Time

Ticker

6/recent/ticker-posts

तीन वर्षको कम्युनिस्ट शासन गफमय भयो

 प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै नेपाली कांग्रेसको आन्तरिक राजनीति पनि ध्रुवीकृत भएको छ । प्रधानमन्त्रीको कदमलाई पार्टीले आधिकारिक रूपमा असंवैधानिक र बदनीयतपूर्ण भने पनि आन्दोलनमा जान भिन्न मत देखिएको छ । यसैबीच नेपाली कांग्रेसको पार्टी केन्द्रीय समितिको बैठकले पार्टीको आगामी महाधिवेशनको मिति तय गरेको छ । अब नेपाली कांग्रेस आफ्नो आन्तरिक राजनीति र संगठनका लागि महाधिवेशनमा कसरी केन्द्रित हुनेछ र प्रतिनिधिसभाको आवधिक निर्वाचनका लागि पनि तयार हुनेछ ? यसै सेरोफेरोमा नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतसँग कारोबारले गरेको कुराकानीको सार :

नेपाली कांग्रेसले तोकिएको समयमा महाधिवेशन गर्न सकेन । के अब कांग्रेस संवैधानिक संकटतर्फ उन्मुख हुँदै गएको हो ?
केही संकटमा गएको छैन । संविधानले नै दिएको व्यवस्था हो । त्यो व्यवस्थालाई हामीले सहज रूपमा उपयोग गर्न सक्छौं । हामीले के कुरा बिर्सन हुन्न भने फागुन ७ गतेको कार्यतालिका थियो, त्यो सम्पन्न गर्नका लागि देश एक वर्ष नै कोभिडमय रह्यो । त्यसमा पनि करिब पाँच महिना त लकडाउन र निषेधाज्ञाको अवस्थाबाट देश गुज्रियो । लकडाउनको समयमा सम्पूर्ण जनता नै घरमा बन्दी भएको अवस्थामा नेपाली कांग्रेसका विभिन्न निकाय सक्रिय हुने अवस्था थिएन । त्यो समय हामीले गुमायौं । त्यसैले फागुन ७ गते महाधिवेशन सम्पन्न गर्नका लागि कठिनाइ उत्पन्न भयो । त्यसैले हामीले थप ६ महिनामा अधिवेशन सम्पन्न गर्नका लागि उपयोग गर्नुपर्ने आवश्यकता प¥यो । त्यसमा पनि संसद् विघटनपछि जुन हाम्रो विरोधको निरन्तर श्रृङ्खला पार्टीले सञ्चालन ग¥यो, त्यो कारणले हामीले माघभित्र सक्रिय सदस्यता पार्टीलाई बुझाउने समयावधि जुन जिल्लाहरूलाई दिएका थियौं, आन्दोलनका कारणले पनि सबै जिल्लाबाट सक्रिय सदस्यता आइसकेन । त्यसकारणले पनि सक्रिय सदस्यता बुझ्ने थप समयको आवश्यकता प-यो । त्यसपछि छानबिनको प्रक्रिया आउँछ । छानबिनको प्रक्रिया सम्पन्न भएर पार्टी सभापतिले हस्ताक्षर गरेर क्रियाशील सदस्यता सार्वजनिक गरेपछि अधिवेशन अगाडि बढ्ने अवस्था भएको हुनाले आगामी भदौ ७ गते अधिवेशनको श्रृङ्खला सुरु हुन्छ । महाधिवेशनको समय भदौ ७ गतेलाई निर्धारित गरेका छौं ।

त्यसो भए भदौ ७ गते नेपाली कांग्रेसको महाधिवेशनको अन्तिम डेडलाइन हो ?
होइन, हाम्रो समय सकिने भन्दा केही अगाडि नै महाधिवेशनको मिति तोकेका छौं ।

कोभिडलगत्तै प्रतिनिधिसभाको विघटनमा जानुप-यो भन्नुभयो । तर, कांग्रेस आन्दोलनमा हो कि चुनाव प्रचारमा हो ?
नेपाली कांग्रेस जनतामा विश्वास गर्ने पार्टी हो । जनताबाट अनुमोदित नभईकन सत्तामा जाने कुरालाई कहिले पनि नेपाली कांग्रेसले स्वीकारेको छैन । त्यो हाम्रो सिद्धान्त, विचार हो । जबरजस्ती सत्तामा जाने कुरा अरू पार्टीहरूका लागि स्वाभाविक हुन सक्छ, तर नेपाली कांग्रेसका लागि स्वाभाविक हुँदैन । त्यसो हुनाले जनतामा जाने, देशको वस्तुस्थितिको बारेमा जनतालाई सुसूचित गर्ने कुराहरू महŒवपूर्ण हुन् । नेपाली कांग्रेसले यस अर्थमा विकेन्द्रिकृत आन्दोलन ग¥यो । हामीले जनतालाई खर्च गरेर काठमाडौंमा आऊ भन्नुको सट्टा हामी जिल्ला जिल्लामा, वडावडामा आन्दोलन गर्दा अहिलेको समसामयिक राष्ट्रिय विषय, संसद् विघटनको विषय, तीन वर्षको कुशासनको विषयलाई हामीले आमजनतामा पु-याउन सफल भयौं । त्यसैले हामीले सञ्चालन गरेको विरोधको कार्यक्रम जनताको सहभागितालाई प्राथमिकता दिने तर खर्च गरेर ओहोरदोहोर गर्ने विकृति अरू दलले गरेको जस्तो खासगरी कम्युनिस्ट पार्टीको दुवै घटकले समर्थन र विरोधमा गरेको देखियो, त्यस अर्थमा हामीले स्वस्फूर्त रूपमा विरोधका कार्यक्रमहरू ग-यौं । यद्यपि यसमै हामी रोकिन्छौं भन्ने होइन । विरोधका ठूला कार्यक्रम पनि हामी गर्न सक्छौं । त्यसो गर्दा पनि जनताको स्वस्फूर्त सहभागितालाई प्राथमिकतामा राख्छौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विरोध सभामा अथवा सञ्चारमाध्यममा बारम्बार अदालतको निर्णयलाई कुरौं, तर तपाईंहरू चुनावको तयारीमा लाग्नुहोस् भन्ने अभिव्यक्ति दिएका छन् । यसले त कसरी आन्दोलन गरेको भयो ?
होइन, अदालतले विघटनलाई सदर गरेर निर्वाचनमा जाऊ भन्यो भने हामी तयारीबिनाको अवस्थामा रहने कुरा हुँदैन । जुनसुकै बाटो आदालतले निर्देश गर्छ त्यसका लागि हामी तयार हुनुपर्छ भन्ने पनि हामीलाई लागेको छ । यस अर्थमा पनि सभापतिले पुनस्र्थापना होस्, त्यसलाई पनि सहज रूपमा हामी स्वीकार गर्छौं र निर्वाचनमा जाने स्थिति आयो भने, अदालतले त्यो किसिमको बाटो तय ग¥यो भने त्यो निर्णयलाई हामी अवज्ञा गर्न सक्दैनौं । जनतामा गएर फेरि नयाँ जनादेश लिएर संसद् स्थापना गर्ने कुरालाई हामीले अवमूल्यन गर्न सक्दैनौं भन्ने सभापतिको भनाइ उपयुक्त नै हो ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् पुनस्र्थापनामा मात्रै जोड दिएका छन्, चुनावमा कम जोड छ । तर, सभापति देउवाले चुनावलाई जोड दिएका छन् नि ?
व्यक्तिगत रूपमा कुनै नेताले के भन्नुभयो त्यो महत्वपूर्ण कुरा होइन । महत्वपूर्ण कुरा के हो भने नेपाली कांग्रेस केन्द्रीय समितिले सर्वसम्मतिले के पारित गरेको छ, त्यो महत्वपूर्ण हो । केन्द्रीय समितिले के पारित गरेको छ भने यो असंवैधानिक हो र असंवैधानिक निर्णयका विरुद्धमा हामी विरोधका कार्यक्रमहरू गर्छौं । जनताको तहसम्म पुग्छौं भनेर भनेको कुरा महत्वपूर्ण हो । त्यसैमा पार्टी हिँडेको छ । सभापतिले अदालतको निर्णय जसरी आउँछ दुईवटै परिस्थितिका लागि हामी तयार हुनुपर्छ र पुनस्र्थापना नै भए पनि ढिलोचाँडो जनतामै जानुपर्छ, अब डेढ वर्षपछाडि हामी निर्वाचनमै जानुपर्छ भनेपछि त जनताको नयाँ जनादेश त महत्वपूर्ण कुरा हो । किनभने यो तीनवर्षे सरकार असफल भइसक्यो, फेल भइसक्यो । जनतालाई हिजो गरेको वाचाबन्धन उहाँहरूले पूरा गर्न सक्नु भएन, उल्टो दिशामा हिंड्नुभयो भन्ने कुरा जनताले महसुस गरिराखेका छन् र जनता नयाँ जनादेश दिनका लागि आतुर छन् । त्यो अवस्थामा त्यस्तो परिस्थिति आयो भने अहिले त हामी निर्वाचनमा जान्नौं भन्ने कुरा जनता र लोकतन्त्रमा विश्वास गर्ने पार्टीले नकार्न सक्दैन, तर कथम्कदाचित सत्तामा बस्नेहरूले त्यसलाई नकार्ने, आलटाल गर्ने काम गर्न खोज्यो भने त्यसकै विरुद्ध फेरि नेपाली कांग्रेस खनिन्छ । त्यो कुरा पार्टी सभापतिले आमसभामा र पार्टी बैठकहरूमा भन्नुभएकै छ ।

संवैधानिक सर्वोच्चतालाई कांग्रेसले स्वीकार गर्दै गर्दा सर्वोच्चको निर्णयलाई सडकबाट दबाब दिन हुन्छ कि हुँदैन ?
त्यसैले त हामीले आफ्नो दृष्टिकोण सार्वजनिक गर्न पाउने हाम्रो अधिकार छ । हाम्रो बुझाइमा संविधानका सबै स्टेप पूरा नगरीकन विघटन भयो । तर, त्यसको अन्तिम निक्र्योल गर्ने अधिकार संविधानले नै सर्वोच्च अदालतलाई दिएको छ । यदि हामी संविधानको कुरा गर्छौं भने फेरि अर्को पाटो संविधानले नै गरेको व्यवस्थालाई पनि हामीले नकार्न सक्दैनौं । त्यसो हुनाले हामीले सर्वोच्च अदालतको फैसलालाई पनि अस्वीकार गर्न सक्दैनौं । हाम्रो मतभिन्नता हुनसक्छ । सर्वोच्चको निर्णय यस्तो नहुनुपर्ने भन्ने लाग्न सक्छ । तर, त्यो निर्णयलाई मान्दै मान्दैनौं भन्नचाहिं हामी सक्दैनौं । त्यसो हुनाले हाम्रो दृष्टिकोण स्पष्ट छ । त्यो दृष्टिकोण भनेको केन्द्रीय समितिले सर्वसम्मत पारित गरेको दृष्टिकोण हो, त्यसमा हामी कडा हुन्छौं । त्यसैले कुनै नेताले यसो भए हुन्थ्यो भन्नेमा हाम्रो झुकाव होला, तर पार्टीको मूल निर्णयलाई हामीले आधिकारिक दृष्टिकोण मान्नुपर्छ ।

राजनीतिक दलहरूले सत्तामा जाने कुरालाई आफ्नो लाभका रूपमा स्वभाविक रूपमा हेरि नै हाल्छन् । अहिले नेपाली कांग्रेस दुवै हातमा लड्डु भएको अवस्थामा भएको हो ?
यो लड्डुको कुरै होइन । यो कसले भन्यो, मलाई थाहा छैन । दुवै हातमा लड्डु भन्ने कुरालाई म खारेज गर्छु । मूल कुरा जनताको हातमा लड्डु हुनुपर्छ । भनेको मतलब जनता लाभान्वित हुनुपर्छ । जनताप्रति प्रतिबद्ध लोकतान्त्रिक व्यवस्था, संवैधानिक व्यवस्था हो । जनताको आवश्यकता, पीरमर्का, जनताको भावनालाई हामीले बेवास्ता गर्न मिल्दैन । त्यसकारण पार्टीको हातमा लड्डु हुन्छ कि हुँदैन, कुन पार्टीको हातमा लड्डु हुन्छ, कसको हातमा लड्डु हुन्छ त्यो महŒवपूर्ण कुरा होइन । मूल कुरा जनता मजबुत हुन्छन् कि हुँदैनन, जनता अधिकार सम्पन्न हुन्छ कि हुँदैन जनताको आवश्यकता, पीरमर्काप्रति सत्ता संवेदनशील छ कि छैन त्यो महत्वपूर्ण कुरा हो । त्यसकारण अहिले हाम्रो निष्कर्ष के हो भने तीन वर्षको कम्युनिस्ट शासनकाल गफमय भयो, कुरामय भयो, काममा पटक्कै ध्यान दिनुभएन । राज्यको साधन, स्रोत, संयन्त्रलाई व्यापक चरम दुरुपयोग र सत्तालाई मात्रै केन्द्रमा राख्ने काम उहाँहरूले गर्नुभयो । त्यस अर्थमा यसको हामीले विरोध गरेका छौं । त्यसकारण तपाईंले हेर्नुभयो भने हाम्रो विरोधको प्रकृति र कम्युनिस्ट पार्टी प्रचण्ड–माधव पक्षकोमा भन्दा के फरक छ भने हामी संसद्को विघटनसहित तीन वर्षको कुशासनको विरोध गर्ने निर्णयमै छौं । भ्रष्टाचारलगायतका चरम दुरुपयोगका कुराहरू पनि हाम्रो विरोध कार्यक्रमको अंग हो । संसद् विघटनमात्रै होइन । उहाँहरूको एकबुँदे संसद् विघटनको विषयमात्रै छ भने हाम्रो समग्रमा त्यो विषयसहितको आन्दोलन हो ।

संसद् विघटन भएपछि फुटेको नेकपाको दुवै पक्षले कांग्रेस सभापतिलाई प्रतिनिधिसभाको पुनस्र्थापना भए पनि वा चुनावमा गए पनि विभिन्न खालका आश्वासन र आग्रहहरू गरिराखेका छन् भनिन्छ । त्यस सन्दर्भमा के भन्नुहुन्छ ?
कुनै पनि पार्टीगत वा व्यक्तिगत लाभका अफरलाई उहाँले सीधै अस्वीकार गरिसक्नुभएको छ । त्यो मेरो सरोकारको विषय होइन । नेपाली कांग्रेस मूलभूत रूपमा ढिलो या चाँडो नयाँ जनादेशको बाटोबाट मात्रै सत्तामा जाने कुरामा विश्वास गर्छ । जनताबाटै अनुमोदित भएर कुनै क्षणिक रूपमा कोहीसँग जोडिएर तत्कालीन पार्टीगत लाभ लिऊँ वा व्यक्तिगत लाभ लिऊँ भन्ने मानसिकतामा नेपाली कांग्रेसको नेतृत्व छैन ।

तर यस्ता समाचारले नेपाली कांग्रेसका कार्यकर्ताहरू अलमल भइरहेका छन् नि ?
नेपाली कांग्रेसका कार्यकर्ता पटक्कै अलमल हुनुपर्ने अवस्था छैन । अलमलिने आवश्यकता पनि छैन । अब ढिलोचाँडो नयाँ जनादेशबाट हामी सत्तामा जाने बाटो खोज्नुपर्छ ।





वीरगन्ज– नेपाली कांग्रेसका समहामन्त्री डा. प्रकाशसरण महतले नेपाली कांग्रेस मध्यावधि निर्वाचनको पक्षमा जान सक्ने आशय व्यक्त गरेका छन् ।
प्रमुख प्रतिपक्षको भूमिका नदेखिएको भन्ने आरोपको खण्डन गर्दै नेता महतले कोरोना संक्रमणको जोखिमले सडकमा आउने अवस्था नरहेको, सदन बन्द गरेर लोकतन्त्रलाई बन्धक बनाएको अवस्था र कांग्रेसलाई सरकारमा जाने जनादेश पनि नरहेको अवस्थामा जनमतबाटै सरकारको विकल्प खोज्नुपर्नेे भन्दै घुमाउरो पारामा वर्तमान ओली सरकारले मध्यावधि निर्वाचनको घोषणा गरोस् भन्ने आशय व्यक्त गरे ।
कम्युनिष्ट र जसपा लगायतका अन्य दलले जस्तो प्रचारवाजीमा कांग्रेस नलाग्ने बताउँदै उनले आवश्यकता अनुसार जनताको साथ लिएर कांग्रेस अगाडि बढ्ने बताए । नेपाली कांग्रेसले मुलुकमा भएका भ्रष्टाचार र वेथितिको विरोध गरिरहँदा हठातमा आएर संसद नै बन्द गरेर लोकतन्त्रलाई बन्धक बनाएको र बाहिर सडकबाट खबरदारी गर्नका लागि कोरोना महामारीको संक्रमणको जोखिम भएको र यो अवस्थामा ओली नेतृत्वको सरकारमा पनि जाने सम्भावना नरहेकोले अब जनताको साथबाट कांग्रेस अगाडि बढ्ने बताए ।
महतले वर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार निर्वाचित सरकारमध्ये इतिहासकै भ्रष्ट भएको आरोप लगाउदै ट्रान्सपरेन्सी इन्टरनेशनलको तथ्यांकले एशियाका भ्रष्टाचार गर्ने देशहरुमध्ये नेपाल सबैभन्दा पहिलो सूचीमा नै परेकोले पनि ओली नेतृत्वको सरकार भ्रष्ट भएको प्रमाणित गरेको दावी गरे ।
कोरोना महामारीमा पैसा छैन भन्दै जनताको मौलिक अधिकारको रुपमा रहेको स्वास्थ्य सेवा पनि प्रभावकारी नदिएर जनताको आवश्यकताप्रति संवेदनशील नभएको बताउँदै उनले कोरोना उपचारका लागि पैसा छैन भन्ने तर पार्टीको नेताको व्यवस्थापनका लागि सामान खरिदमा करोडौं संस्थागत भ्रष्टाचार गरेको आरोप लगाए ।
पूर्व परराष्ट्रमन्त्री समेत रहेका नेता महतले लोकतन्त्रमा जनता नै मुख्य शक्तिको श्रोत भए पनि वर्तमान सरकारले जनतालाई शक्तिको श्रोत नमान्दा बाह्य शक्तिको चलखेल हुन थालेको र यो शुभसंकेत नभएको पनि बताए । एमाले र माओवादी केन्द्रको अप्राकृतिक एकताबाट बनेको नेकपा पार्टीले राष्ट्रियताको नारामा जनताको मत लिएर सरकारमा गए पनि जनताको आधारभूत आवश्यकता समेत पूरा गर्न नसकेर सत्ता केन्द्रीत मात्रै भएको टिप्पणी गरे ।
राष्ट्रियताको अलाप गर्ने सरकारले उत्तरी सीमा अतिक्रमणमा केही नबोल्ने र कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका स्थानका विवादित विषयलाई कूटनीतिक पहलबाट सामाधान नगरी विदेश नीतिमा निकम्मापन देखाएको बताए । कोरोना रोकथाम र नियन्त्रणको नाममा सीमा नाका बन्द गरेर जनतालाई अप्ठ्यारोमा पारेको बताउदै डाक्टर महतले जनतालाई नै सास्ती हुने गरी सीमामा गरिएको थुनछेकले मात्रै कोरोना संक्रमण नरोकिने बताए ।







Post a Comment

0 Comments