Time

Ticker

6/recent/ticker-posts

"म अझै दमाई भैसकेको छैन",~परिबिक्रम

२०७७ कार्तिक २२ पोखरा

समाजमा रहेका घट्दै भोग्दै आएका बिभेद, असमानता र अन्यायका घटनाहरुको आफ्नो साहित्तिक सृजनामार्फत व्याङ्ग्यात्म रसमा बेतोडले पस्कदै आउनुभएका उदयमान साहित्यकारको रुपमा परिचित नाम हो बिक्रम परियार। उनैं बिक्रम परियार अर्थात परि बिक्रमबाट रचिएको मर्मस्पर्शी र समभाबको चेतनाको रसले भरिएको नवीन सृजना म अझै दमाई भैसकेको छैन। 

म अझै दमाई भैसकेको छैन 
मलाई दमाईँ नभन
म अझै दमाईँ भई सकेको छैन
र मलाई अछूत त भन्दै नभन
जुन म हिजो त थिइनँ
आज हुने कुरै भएन ।

एउटी ब्राहमणी मातरीको
भरिएको कोखले ब्राहमण जन्माउँछ
तन्त्र मन्त्रको जनैले पनि ऊ ब्राहमण बन्दछ
तर फरक यहाँ छ नि
एउटी दमिनी आमाको
भरिलो कोखबाट दमाईँ जन्मदैन
जन्मन्छ,
एउटा नवजात शिशु मात्र।

हो,
म त्यस्तै शिशु बनेर जन्मिएको थिएँ
मलाई मेरी दमिनी आमाले नै जन्माइन्
तर म दमाईं भइनँ 
म अझै दमाईँ भई सकेको छैन।

बडा साहेबको छोराको विवाह
यही मंसिरमा धुमधामले आटिरहँदा
म मेरा बा'को बाजा लिएर जान सक्दिनँ ।

बडा साहेबको कोट, पाइन्ट
उनका श्रीमतिको साडी, चोली
बेहुला राजाको दौरा, सुरुवाल
सिउने मेरो क्षमता छैन।

कहाँ सक्छु र?
बडा साहेबकै बेँसी खेतमा
मेरा बाले झैँ आफैँ हलो बनाएर
बाली लगाउन कहाँ सक्छु र?

अनि सक्दिनँ
जोत्दा जोत्दै अनौ फुस्किँदा-
कता कताबाट खोजेर ठोक्न पनि सक्दिनँ ।

दिन रात बाली भनी
बुलबुले मूल हेरीवरी
पानी लगाउन पनि सक्दिनँ
झन् मंसिरमा फलाएर थन्काइदिन त
सोच्न सक्ने पनि भएको छैन
हो के, म दमाईँ भई सकेको छैन।

नवदुर्गाको नौ दिन भरि
बिहान बिहान झिस्मिसेमा
तिम्रो त्यो घर घर चाहारी
फेरी लगाउन सक्ने भएकै छैन।

अनि,
तिम्रो घरको भैंसी मर्दा
लैजा! काटेर खा भन्दा
मेरा बाले झैँ चोक्टा चोक्टा-
बनाउन सक्ने भएकै छैन।

साँच्चै,
धेरै गाह्रो हुन्छ यार दमाईँ बन्न
मेरा कैयौं पुस्ता दमाईँ बने
मैले सोच्नै नसक्ने दु: ख गरे ।

तर, 
ममा दमाईँ बन्न लायक कुनै पनि लक्षणै छैन

मलाई दमाईं नभन
मलाई दमाईं नभन्नुहोस्
मलाई दमाईँ नभनिसियोस्
म दमाईँ भई सकेको छैन।
(यो कबिता ०७३-०७-२८ गते रचना गरिएको कबिता हो। )

Post a Comment

0 Comments