Time

Ticker

6/recent/ticker-posts

पौष महिनामा म्युचुअल फण्डहरुको सम्पत्ति १०% ले बढ्यो, SBI, HEI, NMB, GBBL, GBIME, SHPC मा थप लगानी, ६ म्युचुअल फण्डहरु घाटामा

 

पौष महिनामा म्युचुअल फण्डहरुको सम्पत्ति १०% ले बढ्यो, SBI, HEI, NMB, GBBL, GBIME, SHPC मा थप लगानी, ६ म्युचुअल फण्डहरु घाटामा


म्युचुअल फण्डहरुले आर्थिक वर्ष २०७९/८० को पौष मसान्तको मासिक विवरण सार्वजनिक गरी सकेका छन्। हाल ३० बन्दमुखी र ६ खुलामुखी गरी कुल ३६ म्युचुअल फण्ड संचालनमा रहेका छन्। बन्दमुखी योजनाहरु नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भई दोश्रो बजारमा कारोबार हुने गर्दछन् भेन खुलामुखी योजनाहरुको सम्बन्धमा प्रत्येक कारोबार दिन योजना व्यवस्थापकले खुद सम्पत्ति मुल्यको आधारमा योजनाको ईकाइ खरिद तथा बिक्री मुल्य निर्धारण गर्ने गर्दछन् र सोही मुल्यमा सर्वसाधारणले कारोबार गर्ने गर्दछन्।

पौष महिनाको विवरण अनुसार म्युचुअल फण्डहरुले १ महिनामा रु. ३.३५ अर्ब कमाएका छन् जुन अघिल्लो महिना कायम रहेको कुल सम्पत्तिमा ९.७०% को वृद्धि रहेको छ। हाल म्युचुअल फण्डहरुको कुल सम्पति रु. ३७.९९ अर्ब कायम रहेको छ। मंसिर महिनामा फण्डहरुले रु. १.०६ अर्ब कमाएका थिए भने श्रावण र भाद्र महिनामा भने क्रमश रु.२.४० अर्ब र रु.२.७६ करोड कमाएका थिए। असोज महिनामा भने फण्डहरुले रु.७८.७४ करोड गुमाएका थिए चालु आ.व. लागे यता ५ नयाँ योजनाहरु भने थपिएका छन् जस मध्ये रु.१.२२ अर्बको एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२, रु.१.०२ अर्ब आकारको ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१ र रु.२७.१० करोडको शुभ लक्ष्मी कोष, रु.६७.२५ करोड आकारको सानिमा ग्रोथ फण्ड, रु.४६.२६ करोड आकारको नबिल फ्लेक्सी क्याप फण्ड रहेका छन्।

मंसिर मसान्त सम्ममा म्युचुअल फण्डहरुको रु. २५.२१ अर्ब कुल लगानी रहेकोमा पौष मसान्त सम्ममा कुल लगानी रु. २८.६९ अर्ब पुगेको छ। अघिल्लो महिना फण्डहरुले कुल लगानीको ८४.७०% कम्पनीहरुको धितोपत्रमा गरेका थिए भने हाल उक्त लगानी ८५.९४% पुगेको छ। फण्डहरुले अन्य १४.०६% रकम भने बैंक वित्तिय संस्थाहरुको मुद्दती निक्षेपमा गरेका छन्। म्युचुअल फण्डहरुले आफ्नो योजनाको आकार वा लगानी गर्दाको समयमा कायम रहेको खुद सम्पत्ति मुल्यको न्युनतम १५% बैंकको मुद्दती निक्षेपमा लगानी गर्न पाउने प्रावधान रहेको छ।

म्युचुअल फण्डहरु मध्ये सबै भन्दा धेरै लगानी सानिमा इक्विटी फण्ड (SAEF) को रु. १.६३ अर्ब रहेको छ। अघिल्लो महिना फण्डको लगानीको बजार मुल्य रु. १.५३ अर्ब रहेको थियो। सानिमा म्युचुअल फण्ड अन्तर्गत संचालित फण्डले ८३.५४% धितोपत्र बजारमा गरेको छ भने १६.४६% लगानी मुद्दती निक्षेपमा गरेको छ। कुल लगानीको हिसाबले रु. १.५३ अर्ब लगानी रहेको सिद्धार्थ इक्विटी फण्ड (SEF) दोश्रो स्थानमा रहेको छ। सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत संचालित योजनाले ९१.८४% धितोपत्र बजारमा गरेको छ भने ८.१६% लगानी मुद्दती निक्षेपमा गरेको छ। यस्तै, रु.१.५ अर्ब योजना आकार रहेको, एनआईबिएल समृद्धि फण्ड-२ (NIBSF2) तेश्रो स्थानमा रहेको छ। फण्डले कुल लगानी रु. १.२३ अर्बको ८२.१८% धितोपत्र बजारमा गरेको छ भने १७.८२% लगानी मुद्दती निक्षेपमा गरेको छ। अघिल्लो महिना फण्डको लगानीको बजार मुल्य रु. १.१५ अर्ब रहेको थियो। यस्तै, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ (SIGS2), एनएमबि फिफ्टी (NMB50), नबिल ब्यालेन्स्ड फण्ड (NBF2), नबिल इक्विटी फण्ड (NEF), मेगा म्युचुअल फण्ड १ (MMF1), लक्ष्मी इक्विटी फण्ड (LEMF), सनराईज ब्लुचिप फण्डको पनि कुल लगानी रु.१ अर्ब भन्दा माथि रहेको छ।

त्यस्तै, म्युचुअल फण्डहरु मध्ये न्युन लगानी गर्नेमा हालसालै संचालनमा आएको खुला मुखी योजाना सानिमा ग्रोथ फण्ड रहेको छ। रु. ६७.२५ करोड योजना आकार रहेको कोषले रु. ९.२६ करोड लगानी गरेको छ जसमा ४०.६४% धितोपत्रमा रहेको छ। यस्तै, खुला मुखी योजाना नबिल फ्लेक्सी क्याप फण्ड (NFCF) को पनि न्युन लगानी रहेको छ। रु. ४६.२६ करोड योजना आकार रहेको फण्डले रु. ११.११ करोड मात्र लगानी गरेको छ जसमा ३९.२९% धितोपत्रमा रहेको छ। यसैगरी, शुभ लक्ष्मी कोष (SLK), सिद्धार्थ व्यवस्थित लगानी योजना (Siddhartha Systematic Investment Scheme), एनआईसी एशिया सेलेक्ट ३० (NICSF) लगायतका योजनाहरुको न्युन लगानी रहेको छ।

म्युचुअल फण्डहरुले लगानी गर्दा नेपाल धितोपत्र बोर्डबाट तोकिएको निश्चित क्षेत्रमा मात्र लगानी गर्नुपर्ने हुन्छ जसमा बोर्डमा दर्ता भएको धितोपत्र, सार्वजनिक निष्काशन भएको धितोपत्र, धितोपत्र विनियम बजारमा सुचीकृत धितोपत्र, नेपाल सरकार वा नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र, ट्रेजरी बील तथा अन्य उपकरणहरु, मुद्रा बजार उपकरण, बैंक निक्षेप जस्ता रहेका छन्।

म्युचुअल फण्डहरुले सूचीकृत तथा सुचिकरण हुन बाँकी धितोपत्रमा गरेको लगानीहरुको तुलना गर्दा सबैभन्दा उच्च लगानी बैंक वित्तिय संस्थाका शेयरमा गरेका छन्। फण्डहरुले पौष मसान्त सम्ममा धितोपत्रमा गरिएको लगानी मध्ये ३२.४६% वाणिज्य बैंकहरुको साधारण शेयरमा गरेका छन्। मंसिर महिनामा उक्त लगानी ३४.६९% रहेको थियो। साथै, लघुवित्त वित्तिय संस्थाहरुको शेयरमा १७.५९%, बिकास बैंकमा ६.२५% र वित्त कम्पनीहरुको शेयरमा ०.८२% गरी 'क', 'ख', 'ग' र 'घ' वर्गका बैंक वित्तिय संस्थाहरुको शेयरमा कुल ५७.४६% लगानी गरेका छन् जुन रु. १२.१६ अर्ब हुन आउछ। १ महिनाको अवधिमा बैंक वित्तिय संस्थाको लगानीको बजार मुल्य रु. १.६४ अर्बले बढेको छ। वाणिज्य बैंकहरुको मात्र लगानीको मुल्य रु. ६५.४७ करोडले बढेको छ भने शेयर संख्या पनि ८ लाख ३ हजारले बढेको छ। म्युचुअल फण्डहरुले वाणिज्य बैंकको मंसिरमा २ करोड ३९ लाख ३७ हजार कित्ता शेयर होल्ड गरेकोमा १ महिनामा ८ लाख ३ हजार कित्ता थपेर २ करोड ३१ लाख ३३ हजार कित्ता शेयर पुर्याएका छन्। शेयर थप गर्ने शेयरहरुमा SBI, NMB, GBIME, PRVU, PCBL परेका छन् भने NICA, BOKL, ADBL, CBL, MBL मा भने लगानी घटाएका छन्। यस अवधिमा २६७,६०१ कित्ता SBI को, १२८,४३९ कित्ता NMB को, १०९,७२१ कित्ता GBIME को, ८०,३२२ कित्ता PRVU को, ७१,०६४ कित्ता PCBL को शेयर थप गरेका छन्। यस अवधिमा NICA को २ लाख २६ हजार कित्ता, BOKL को ४६ हजार कित्ता, ADBL को ३४ हजार कित्ता, घटाएका छन्। म्युचुअल फण्डका इकाई र ऋणपत्रमा लगानी वाहेक फण्डहरुले असोज महिनामा कुल ४ करोड १९ लाख ४८ हजार कित्ता शेयर होल्ड गरेकोमा कार्तिक महिनामा मात्र ४ लाख १५ हजार ७ सय कित्ता थपेका छन् जस मध्ये जलविद्युत कम्पनीहरुको १ लाख ३५ हजार कित्ता, जीवन बीमाको ५२ हजार कित्ता, बिकास बैंकको ५२ हजार कित्ता, निर्जीवन बिमा कम्पनीहरुको ४५ हजार कित्ता रहेका छन्।

वाणिज्य बैंक / बैंकिङ्ग समुह मध्ये हाल सम्म फण्डहरुको उच्च रोजाइमा एन आई सी एशिया बैंक (NICA) परेको छ। म्युचुअल फण्डहरुले कुल रु. ९४.४७ करोड बराबरको ११ लाख ७६ हजार ५३१ कित्ता लगानी गरेका छन्। मंसिर मसान्त सम्ममा म्युचुअल फण्डहरुसँग १४ लाख ३ हजार १३६ कित्ता शेयर एन आई सी एशिया बैंकको रहेको थियो। यस्तै, अघिल्लो महिनामा सानिमा बैंक (SANIMA) को कुल १८,४७,२०५ कित्ता शेयर होल्ड गरेकोमा पौषमा बढाएर १९,१०,७०० कित्तामा पुर्याएका छन् जसको बजार मुल्यको आधारमा रु. ४९.६९ करोड हुन आउछ। त्यस्तै, नबिल बैंक (NABIL), नेपाल बैंक (NBL), माछापुच्छ्रे बैंक लिमिटेड (MBL), प्रभु बैंक (PRVU), प्राइम कमर्सियल बैंक लिमिटेड (PCBL), सिद्धार्थ बैंक (SBL) पनि प्रमुख रोजाइमा परेका छन् जसमा रु.३५ करोड भन्दा बढीका दरले लगानी रहेको छ।

यस्तै, कुल रु. ३.४४ अर्ब बराबरको लगानी रहेको लघुवित्त समुह मध्ये छिमेक लघुवित्त वित्तिय संस्था (CBBL) को ५९५,२३५ कित्ता शेयरमा लगानी गरेका छन् जसको पौष मसान्तको बजार मुल्यको आधारमा कुल रु. ७३.३७ करोड हुन आउछ। अघिल्लो मसान्तमा म्युचुअल फण्डहरुसँग छिमेक लघुवित्तको ५७४,२५८ कित्ता शेयर रहेको थियो। यस्तै, निर्धान उत्थान लघुवित्त (NUBL), साना किसान लघुवित्त (SKBBL), आरएमडिसि लघुवित्त (RMDC), डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड (DDBL) कम्पनीहरुमा बजार मुल्यको आधारमा उच्च लगानी रहेको छ। यसैगरी, बिकास बैंकहरु मध्ये गरिमा बिकास बैंक (GBBL), मुक्तिनाथ बिकास बैंक (MNBBL), महालक्ष्मी बिकास बैंक (MLBL), लुम्बिनी बिकास बैंक (LBBL), कामना सेवा बिकास बैंक (KSBBL), रोजाईमा रहेका छन् भने वित्त कम्पनीहरु मध्ये मन्जुश्री फाइनान्स (MFIL), गुडविल फाइनान्स लिमिटेड (GFCL), रिलायन्स फाइनान्स लिमिटेड (RLFL), आईसिएफसि फाइनान्स (ICFC) प्राथमिकतामा रहेका छन्।

बैंक वित्तिय संस्थाहरु पश्च्यात म्युचुअल फण्डहरुले बिमा कम्पनीहरुमा पनि लगानी विस्तार गरेका छन्। कुल धितोपत्रमा गरिएको लगानी मध्ये बजार मुल्यको आधारमा ९.४५% जीवन बिमा र ११.५६% निर्जीवन बिमा कम्पनीमा गरी कुल २१.०१% लगानी बिमा कम्पनीहरुको शेयरमा लगानी गरेका छन् जुन पौष मसान्तको बजार मुल्यको आधारमा रु. ४.४४ अर्ब कायम हुन आउछ। अघिल्लो मसान्त सम्ममा बिमा कम्पनीहरुमा रु. ३.५० अर्ब लगानी रहेको थियो। जीवन बिमा तर्फ फण्डहरुले नेशनल लाइफ इन्स्योरेन्स (NLICL) मा उच्च लगानी गरेका छन्। बजार मुल्यको आधारमा लाईफ इन्स्योरन्स कर्पोरेशन नेपाल (LICN), नेपाल लाईफ इन्स्योरेन्स (NLIC), प्राईम लाईफ (PLIC), एशियन लाईफ इन्स्योरेन्स (SLICL) मा पनि उच्च लगानी गरेका छन् भने निर्जीवन बिमा तर्फ नेको इन्स्योरेन्स (NIL), प्रिमियर इन्स्योरेन्स (PIC), एन एल जि इन्स्योरेन्स (NLG), शिखर इन्स्योरेन्स (SICL), हिमालयन एभरेष्ट इन्स्योरेन्स (HEI), सगरमाथा इन्स्योरेन्स (SIC), आईएमई जनरल इन्स्योरेन्स लिमिटेड (IGI) मा धेरै लगानी रहेको छ। यस बाहेक म्युचुअल फण्डहरुले जलविद्युत कम्पनीहरुको शेयरमा कुल धितोपत्रमा गरिएको लगानीको ७.४७%, म्युचुअल फण्डको इकाईहरुमा ४.२७%, ऋणपत्रमा ३%, लगानी क्षेत्रसँग सम्बन्धित कम्पनीहरुको शेयरमा २.३५%, उत्पादन तथा प्रशोधन सम्बन्धी व्यवसाय गर्ने कम्पनीहरुको शेयरमा २.०९%, अन्य समुहमा वर्गकृत कम्पनीहरुमा १.७८%, होटल तथा पर्यटनमा ०.४१%  र व्यापार कम्पनीहरुको शेयरमा ०.१५% लगानी गरेका छन्।

गत आर्थिक वर्षको मुनाफा बाट इकाईधनीहरुलाई लाभांश घोषणा गरेका १५ योजना मध्ये उच्च लाभांश वितरण गर्नेमा सानिमा इक्विटी फण्ड (SAEF), एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालित एनएमबि फिफ्टी (NMB50) र एनएमबि हाईब्रिड फण्ड एल-१ (NMBHF1) रहेका छन्। उक्त योजनाहरुले इकाईधनीहरुलाई २०% भन्दा बढीका दरले लाभांश घोषणा गरेका छन् भने एन आई सी एशिया ब्यालेन्स्ड फण्ड, एन आई सी एशिया ग्रोथ फण्डले १३% का दरले लाभांश वितरण गरेका छन् ।

त्यस्तै चालु आ. व. को ६ महिनामा ६ फण्डहरु घाटामा रहेका छन् भने अन्य ३० योजनाहरु कुल नाफामा रहेका छन्। कुल आयको तुलना गर्दा भने २४ फण्डहरु घाटामा रहेका छन्। उच्च घाटा व्यहोर्नेमा ग्लोबल आइएमई समुन्नत योजना १ (GIMES1) रहेको छ। योजनाले कुल रु. २४.९६ करोड घाटा व्यहोरेको छ भने लक्ष्मी बैंक लिमिटेड द्वारा प्रवर्दन गरिएको लक्ष्मी क्यापिटल मर्केट लिमिटेड योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत संचालित लक्ष्मी इक्विटी फण्ड (LEMF), लक्ष्मी उन्नत्ती कोष (LUK) ले पनि उच्च घाटा व्यहोरेका छन्। त्यस्तै, सानिमा बैंक लिमिटेड द्वारा प्रवर्द्धन गरिएको तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सानिमा बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित सानिमा इक्विटी फण्ड (SAEF)  र एन आई सी एशिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एन आई सी एशिया ग्रोथ फण्ड (NICGF) ले भने उच्च कुल आय गर्न सफल भएका छन्।

म्युचुअल फण्डहरुको सम्पूर्ण जानकारीको लागि तपाईंहरुले नेप्से अल्फाको Mutual Fund Performance मा हेर्न सक्नुहुन्छ।

Post a Comment

0 Comments