Time

Ticker

6/recent/ticker-posts

पर्वत सवाल : लोकतन्त्रवादी जोशी कि प्रतिगमनकारी गिरि ?

कात्तिक-०८,पर्वत-०७९, मंगलबार 



मैले अभिव्यक्त गर्ने हरेक बिचारहरुमा अर्जुन जोशीको कार्यकालका मुख्य उपलब्धि के हुन् ? भनी प्रश्न गरिएको छ । प्रथमतः अर्जुन जोशी २०५६ एता तत्कालीन पर्वत क्षेत्र नं १ बाट सांसद , र त्यसपछि दुईपटक संबिधानसभा सदस्यको रुपमा निर्वाचित व्यक्ती हुन् । २०५६ पछि उनको पर्वतमा जसरी उदय भयो त्यसमा सबैभन्दा बढी जनस्नेह त थियो नै त्यो भन्दा बढी उनको विकासवादी चिन्तन र सोनुकुलको संकल्प थियो । वास्तविक रुपमा सिंगो देशनै माओवादी आन्दोलनबाट गुज्रिरहेको बेला पर्वतका आधारभूत संरचनालाई जोगाएर बिकासको रेखांकन गर्नु सानो चुनौतीपूर्ण कुरा थिएन । 

२०५६ देखि २०६२-६३ सम्मको अवस्थाप्रती को अनबिज्ञ छ ? प्रतिगमनका क्रमिक षड्यन्त्रलाई चिरेर संसदीय भुमिकाको युनिट मार्फत लोकतन्त्रलाई पुनःस्थापित गराउनु अर्जुन जोशीहरुको गल्ती थिएन । 'राजतन्त्र मुर्दावाद , लोकतन्त्र जिन्दावाद' भन्दै पर्वतका हरेक कोणबाट प्रतिगमनलाई खुला चुनौती दिनुमा जोशीको नेतृत्व कमजोर ठानिएन । त्यसैले बयलगाढावादी राजनीतिका अनुयायीहरु जसलाई लोकतन्त्र र जनाधिकारप्रती रत्तिभर विश्वास छैन , तिनिहरुले स्वभाविक रुपमा आजपनी यो कुरा स्वीकार्ने हिम्मत राख्दैनन । 

यो कुरा त एउटा लोकतन्त्रवादी नेताले देखाउनुपर्ने क्रान्तिकारिता थियो , त्यो भन्दा सर्बाधिक बिकासको हुटहुटी ठानिएको जोशीकै प्रथम कार्यकाल थियो । उनी अझै पनि भन्छन् , '५६ को चुनावमा पर्वतका हरेक गाउँ-ठाउँ पैदल हिडेरै भोट मागेको थिए , त्यही बेला उद्घोष पनि गरें अर्को चुनावमा आउँदा गाडी चडेरै आउने अवस्थाको सिर्जना गर्नेछु , पर्वत बदलेरै छोड्नेछु । यो उनको मिसन थियो । बिकासका सन्दर्भमा ६३ सम्म त सिंगो देश अवरुद्ध नै थियो , तर परिवर्तनको आकांक्षा बोकेका उनि बिकासको जग हाल्न भने पछि परेनन् । 

देशले लोकतन्त्र त पायो तर लोकतान्त्रिक संविधान पाएको थिएन । अघिल्लो कार्यकाल बढो संयमता पुर्वक सम्पन्न गरेका उनी दोश्रो पटक पुरस्कृत हुने मौका पाए । माओबादीहरुसग प्रत्यक्ष-परोक्ष संबादलाई निरंतरता दिने सबालमा होस वा पार्टी नेतृत्वले बिबादित संबिधानका बुदालाई सल्ट्याउने प्रयत्न गर्नका खातिर दिएको जिम्मेवारी होस उनले कुशलता पुर्वक निर्वाह गरे । पर्वत क्षेत्र नं १ को संबिधानसभा सदस्य बनेर जनजीविकाका सबालमा पनि उत्तिकै प्रयत्नरत रहे। अहिले पालिकाको कुनै योजनामा पर्ने बजेट त्यतिबेला मुस्किलले एउटा निर्वाचन क्षेत्रमा पर्थ्यो । प्रत्येक वाडमा सडक सन्जाल , बिजुली बत्ती , खानेपानी देखि शिक्षा सम्म उनले देखाएको परिवर्तनगामी सोचले परिवर्तनको ईट्टा थप्ने काम गर्यो । 

जति पनि योजना वा दीर्घकालीन रणनीतिका आयोजना छन ती 'छु मन्तर…' गरेर बनिहाल्ने होइनन् । तिनिहरुको आवश्यक प्लानिङका लागि प्रोजेक्ट प्रपोजल (रोड्म्याप) , रिपोर्ट , आवश्यकताको पहिचान साथसाथै सो-को स्वीकृती आवश्यक हुन्छ । प्रकृयागत ढंगले साना-ठुला योजना सम्पन्न हुन कति समय लाग्छ सबैलाई जगजाहेर नै छ । तसर्थ निर्धक्क भन्न सकिन्छ , आज जति पनि संरचना पर्वतमा बनेका छन ती १५ बर्षे जोशी कार्यकालका स्वर्णिम उपज हुन नकि ३ बर्षे कार्यकालमा ठानिएको भ्रमपुर्ण जादुमयी चमत्कार । 

संबिधानसभाबाट संविधान निर्माण गर्न देखाएको तत्परता र बिकासको क्रमिक शृङ्खला अविश्रान्त चलिरह्यो । जोशी जहाँ स्काभेटर र लोडर पुग्छ , उनी त्यहाँ फोटा खिच्न पुगेनन । जहाँ सिचाई बगाउनुछ , त्यहाँ गिटि र बालुवा घोल्न पुगेनन । जहाँ बत्ती पुगेन , त्यहा खम्बा बोक्न गएनन् । कसैको व्यक्तिगत आकांक्षालाई पुर्ती गर्न आफू प्रयोग भएनन् । तर जहाँ बाटो , खानेपानी र विकासका पुर्वाधारहरुको आवश्यकता छ त्यसको आवश्यक पहलकद्मी लिए , निर्देशन दिए , समग्रमा कुशल नेतृत्वको छवि प्रस्तुत गरे । परिवर्तनको जेहाद छेड्ने यो दोश्रो कार्यकाल पनि उत्तिकै स्मरणीय थियो ।

पहिलो संबिधानसभाले संविधान बनाउन त सकेन तर केही महत्त्वपूर्ण काम भने भएको थियो । चाहे त्यो संविधान निर्माणको सबालमा होस वा पर्वत निर्माणको शृङ्खलामा जोशी पर्वतका लागि निर्विकल्प जस्तै बन्दै गए । बढ्दो राजनैतिक उचाई , राष्ट्रिय राजनीति प्रतिको उनको दृष्टिकोण , संबिधान सभाका बिबिध समितिमा बसेर काम गरेको कार्यानुभव समग्रमा उपलब्धिमुलक थिए । उनी पर्वतबाट एक्ला सभासद त थिएनन , फरक राजनीति दलबाट पनि प्रत्यक्षमा होस वा समानुपातिक प्रतिनिधित्व थियो । तर मलाई लाग्छ , जनकेन्द्रित र जनसमर्पित भावना जोशीमै बढी थियो ।  बुझेकी छु , जहाँ बढी अपेक्षा हुन्छ त्यहाँ स्वभाविक रुपमा बढी प्रतिक्रिया जन्मिन्छ । 

अर्जुन जोशी राष्ट्रिय राजनीतिमा पर्वतले उत्पादन गरेको प्रभावशाली व्यक्तित्व मात्र हैनन , लोकतान्त्रिक आन्दोलनको एक अविचलित अथक योद्धा पनि हुन । निरन्तर संविधानसभालाई निकास दिन प्रयत्नशील एउटा बिधायक मात्र होइनन , नेपाली राजनितीका निष्कलङ्कित छवि पनि हुन । बिकासका दृष्टिले बाग्लुङको पुर्वी भेग भनेर मात्र चिनिने पर्वतलाई १० बर्ष-मै उकास्न अहोरात्र खटिने बिकासप्रेमी व्यक्तित्व हुन । न सत्ता न शक्ति निरन्तर पर्वतका उकालो र ओरालोमा भेटिरहने , कहिले पहाडको टाकुरो त कहिले बेंसी झरिरहने सरल र शिष्ट राजनीतिका उदाहण हुन ।

संविधान निर्माणको पेचिलो बिषयलाई सुझाउने कामकामकारबाहीमा  लागि जोशीको कार्यकाल धन्यवाद योग्य छ । ६०१ जना सभासद भएको संबिधानसभा मा पर्वत -१ बाट प्रतिनिधित्व गर्दै पर्वतलाई रुपान्तरण गर्न खेलेको गर्विलो भुमिका थप स्मरणयोग्य छ । दुष्प्रचार र भ्रमपुर्ण राजनीतिका बीच पर्वत बदल्ने अठोट आजसम्म कायम छ , सत्ता-शक्तिको सिमितताका बीच देखाएको इक्छाशक्ती झन बढी स्मरणीय छ ।

न मन्त्रीको लागि दौडधुप , न सत्ताशक्तिको लोभ । पार्टी भित्र र बाहिर गरि हार र जीतको बराबर रेकर्ड बनाएका राजनीति कर्मी जोशी पदको लागि कहिल्यै दौडधुप गरेनन् न त कहिल्यै दुई रुपियाँको अनियमितता । ईमान्दारिता , प्रतिबद्धता र निष्पक्षताले नै जोशीको राजनैतिक यात्रालाई कन्टिन्युटी दियो , उनको निष्कलङ्कित छविले व्यक्तित्वको बढ्दो उचाई । अहिले हामी निर्वाचनको एउटा एस्तो संघारमा छौं , जहाँ झुट र भ्रमका पर्दाहरु च्यातेर नवीन आशा र उस्तै विश्वासका आयामहरुलाई पुन:स्थापित गर्नुछ ।

लोकतन्त्र स्थापना पश्चात् भएका निर्वाचनमा जोशीलाई नै पर्वत क्षेत्र नं १ ले संविधान निर्माण र बिकासका खातिर परिपक्व क्यान्डिडेट ठान्यो । जसरी पर्वतले त्यो भुमिकाको महसुस गर्यो , त्यसै गरि उनी खटिरहे । संबिधानसभाका दिनहुँ जस्ता बैठक , बहस र संवादमा जति समयको खर्च भयो , पर्वतेली जनताका आगनमा पनि उत्तिकै समय व्यतित भएकै हो । न त त्यो बेला स्थानीय सरकार भुमिकामा न त अरु कुनै जनप्रतिनिधिमुलक संस्था , न वर्तमानको जस्तो खुला समय । राजनैतिक संक्रमणमा गुज्रिएको त्यो समय कम चुनौतीपूर्ण नै थिएन । पर्वतको उकालो ओरालो गर्दै संबिधानसभा भवनसम्मको उनको राजनैतिक यात्रा बिरोधीहरु ले भनेजस्तै त्यति सहज पनि थिएन ।

मुलुक प्रतिनिधिसभा निर्वाचनको तयारीमा थियो । नेकपा एमाले र माओवादी केन्द्र बीच बामपंथी गठबन्धनको निर्माण स्थिर सरकार र समृद्धिको नाउँमा भएको थियो । पर्वतमा जोशी निरन्तरताको क्लिन ईमेजका साथ जनतामाझ प्रस्तुत भए भने बामपंथी गठबन्धनबाट पदम गिरि । मौसमी राष्ट्रवाद , स्थिर सरकार र समृद्धिका बाचाहरु ज्यादा खपत भएको तत्कालीन समयमा नतिजा जोशीनुकुल आएन । पर्वतका एउटा कुनै डाडो बाकी रहेन जहाँ आफू सफा देखिन जोशीलाई हिलो नछ्यापिएको होस । तत्कालीन समयमा चन्द्रमामा खेती गर्ने बाहेक कुन चाहिँ आश्वासन बाढेन होला एमालेले चुनाव जित्नका लागि ?

मलाई अझै पनि सम्झना छ, पाँच बर्ष अघि बामगठबन्धनका उम्मेद्बार गिरिले चुनावी शिलशिलामा जलजलाको सालिजामा बोलेका कति कुरा पूरा भए होलान ? ठुला-ठुला हवाईजहाज ग्राउण्डको निर्माण , हाईड्रोपावरको उद्घाट्न , सुरुङ्गमार्गको निर्माण , कुश्माको रेल स्टेसन , पानीजहाजको टिकट , तामाखानी , सिसाखानीहरुको उत्खनन कहाँनेर के काम भयो होला ? पहाडको टुप्पोमा बस्ने मान्छेको आवश्यकता रेलस्टेशन भन्दा बढी बजारसम्म आउने बाटो कै हुन्छ । सायद जोशीको इनिसिएसनमा अघि बढाईएका पुर्वाधारहरु भएर होला कि गाडीबाट धुलो उडाउदै पहाडको टुप्पोमा गएर रेल , जहाज , स्थिरता र स्थायित्वको कुरा त गर्नुभो तर धुलो उडेको सडकमा पानी छ्म्कने हिम्मत सम्म गर्नुभएन । एसैबाट प्रष्ट हुन्छ पर्वतको बिकास एमालेको ओठेभक्तीबाट होईन , कांग्रेसको दृढईक्छाशक्ति र संकल्पबाट संभव छ भन्नेकुरा । 

 तत्कालीन नेपाल कम्न्युष्ट पार्टी नेतृत्वको सरकार झण्डै दुईतिहाई नजिकको सुविधाजनक बहुमत मा थियो । तर बिडम्बना डे फस्टबाट नेतृत्व संकुचित बन्दै गयो , अन्तरबिरोधहरु फस्टाउदै । फलस्वरूप ओली अलोकतान्त्रिक र प्रतिगमनको बाटोतर्फ गए भने माधव-प्रचण्ड लोकतन्त्रको मार्गतर्फ । अन्ततः असंबैधानिक तबरले संसद भंग भयो , नेकपा बिभाजन सम्म हुन पुग्यो । दिनैपिच्छेका काण्ड , बिघटन र अराजकता बीच स्थिरता र स्थायित्वको यो महत्वपूर्ण समय खेरा गयो । एसरी राजा ज्ञानेन्द्रको अधिनायकवादको जस्तै झल्को दिने केपी ओलीको सर्वसत्तावादमा हाम्रो प्रतिनिधि त झन बढी उत्तेजक निस्किए । सर्बाधिक समय बिघटनको बचाउ र प्रतिरक्षामा खेरा गएको यो पाँच बर्षले स्वयम् गिरि ज्यू लाई नै गिज्जाईरहेछ छ र भन्छ , मत माग्ने आधारहरु त च्युत पो भईसकेछन ।
 
एसरी यी तमाम घटना / परिघटनाले प्रष्ट्याउछ कि , अहिलेको प्रतिनिधिसभा कस्तो प्रतिनिधिहरुको पर्खाईमा छ ? संविधान बनाउने , जोगाउने र संरक्षण गर्ने अर्जुन जोशीहरुको पर्खाईमा कि भंग गर्ने र भजनमण्डलीमा उत्रनेहरुको पर्खाईमा ? बहस यत्रतत्र छरिएको छ । त्यसैले खुला रुपमा प्रश्नहरु खडा भएझै , मेरा पनि प्रश्न एसैगरि बरकरार छन ।
 
जुन शक्तिले नेपाललाई शान्ती र संबिधान दियो , त्यही शक्तिले आम-समृद्धिको नेतृत्व दिन्छ भन्ने मान्यता प्रती अब आमजनसमुदाय विश्वस्त हुनैपर्छ । गफ गर्ने होइन , काम गर्ने नेतृत्व आजको जरुर आवश्यकता हो । पटकपटक बिघटनको रटान र बचाउ भर्सेस संसदको पुनःस्थापना बीच खेरा गएको यो पाँच बर्षलाई पुन: नदोहोर्‍याउने संकल्पका साथ गठबन्धन प्रती हामी सबै जिम्मेवार हुनैपर्छ । जिम्मेवारी लोकतन्त्र बचाईराख्ने सर्तमा हो , पर्वतले पनि त्यो भुमिका खेल्न सकोस भन्ने सन्दर्भमा हो । यसर्थ पर्वतेली जनसमुदायलाई पनि प्रश्न जान्छ , 'संविधान निर्माण देखि कार्यान्वयनसम्म अनवरत लडिरहेका जोशी तपाईको रोजाईमा पर्ने कि संविधान मास्ने षड्यन्त्रका साक्षीको पुनरावृत्तिमा सहयोगी बन्ने ?' 

प्रतिगमनकारी प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने तपाईं हाम्रो दृष्टिकोण त छ नै , त्यो भन्दा बढी यो बीच अवरुद्ध बनेको पर्वत बिकासको लामो ऎतिहासिक मिसनलाई निरंतरता दिनुपनी छ । जोशीको अगुवाईमा पुर्याइएका हरेक वाडका ती सडक योजना देखि बिद्युत प्रसारण सम्म , खानेपानी देखि सिचाईसम्म , स्वास्थ चौकी देखि भग्नावशेष बिद्यालय भवनसम्म सबै संरचनालाई उठाउनुछ , तिनलाई संरक्षण गर्नुछ । यो मिसनको अभिभावक बनेर आएका नेता जोशीप्रती एकपटक हाम्रो खुला भाव आवश्यक छ । त्यो ठुला गफ , मिथ्या र भ्रममा आधारित होइन । साच्चिकै बिकासको नाउँमा हो । समृद्धिको नाउँमा हो ,  प्रगतिको खातिर हो । यो नै जोशीको जनकेन्द्रित , जनसमर्पित र विश्वासको अर्को अध्याय हो । 

समग्रमा भन्नुपर्दा आफ्नो कर्मप्रतीको बिश्वास र जनता प्रतिको उत्तरदायित्व जोशीको राजनैतिक जीवनको सर्बाधिक ठूलो पुंजी हो भने प्रतिबद्धतालाई पूरा गरेरै छाड्ने उनको राजनैतिक ईमान । उनै जोशीलाई मंसिर ४ को हार्दिक शुभकामना । अभिभावकीय राजनीतिको सन्दर्भमा पर्वतेली जनताले सधै गर्वानुभूती गर्ने अवसर मिलिरहोस । जनविश्वास कायम त छ नै अंकगणितले थप पुनःस्थापित गरोस । एक लोकतन्त्रवादीको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछु ।

(लेखक सुवेदी नेपाली काङ्ग्रेस मोदी गाउँपलिकाको उपसभापति हुन।)

Post a Comment

0 Comments