Time

Ticker

6/recent/ticker-posts

नेपालमा वित्तीय साक्षरताको अवस्था ~ सागर पौडेल

सागर पौडेल   POSTED ON : कार्तिक २३, २०७७ 

सामान्यतया वित्तीय साक्षरता भन्नाले आम्दानी, खर्च, कर्जा, कर योजना, बचत तथा लगानी जस्ता वित्तीय क्षेत्रका महत्वपूर्ण विषयहरू बुझी निर्णय गर्न सक्ने क्षमतालाई जनाउँछ । वास्तविक रूपमा वित्तीय साक्षरताले व्यक्तिगत वित्तीय व्यवस्थापनसहितको विभिन्न प्रकारका वित्तीय कौशलहरू बुझ्ने र प्रभावकारी रूपमा उपयोग गर्ने क्षमतालाई बुझाउँछ ।

ओइसिडी अर्थात आर्थिक सहयोग र विकास संगठनले वित्तीय साक्षरतालाई वित्तीय अवधारणा, जोखिम र दक्षताको ज्ञान साथसाथै यसको प्रयोग गर्नका लागि प्रेरणा र विश्वास प्रदान गरी वित्तीय सन्दर्भहरूको दायराभित्र रही प्रभावकारी निर्णयहरू गर्न, व्यक्ति तथा समुदायको वित्तीय कल्याणमा सुधार गर्न र आर्थिक जीवनमा सहभागितालाई सक्षम गर्न सक्ने ज्ञानको रूपमा परिभाषित गरेको छ ।

वित्तीय साक्षरताले विभिन्न प्रकारका महत्वपूर्ण वित्तीय सीप र अवधारणालाई बुझाउँदछ । नेपाल सरकारको वित्तीय क्षेत्र विकास रणनीति (२०७३/०७४–२०७७/७८) मा वित्तीय पहुँच र समावेशीकरण अभिवृद्धि गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेको छ । जसलाई वृद्धि गर्न वित्तीय साक्षरता र शिक्षाको माध्यमबाट जनचेतना अभिवृद्धि गर्ने रणनीति लिएको छ ।

नेपाल राष्ट्र बैंकको तेस्रो रणनीतिक योजना (२०१७–२०२१) मा कोर पिलरभित्रको पिलर दुईमा वित्तीय स्थायित्व र वित्तीय क्षेत्र विकासअन्तर्गत वित्तीय पहुँच र वित्तीय समावेशीकरणमा अभिवृद्धि गर्ने उद्देश्य रहेकोे छ । यसै रणनीति बमोजिम नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरता ढाँचा (एफएलएफ) को तर्जुमा २०२० मार्चमा गरेको छ । 

नेपाल सरकारको पन्ध्रौं आवधिक योजना (२०७६/०७७–२०८०/०८१) को आधारपत्रले वित्तीय साक्षरता अभिवृद्धि गर्ने रणनीति लिँदै सोही बमोजिम कार्यनीति तर्जुमा गरेको छ । आर्थिक वर्ष २०७७÷०७८ को मौद्रिक नीतिले वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी बनाउँदै वित्तीय सेवाको माग अभिवृद्धि गर्ने र वित्तीय साक्षरता ढाँचाको कार्यान्वयन गर्ने नीति लिएको छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाहरूलाई वित्तीय साक्षरता अभिवृद्धि गर्ने कार्यमा थप उत्तरदायी बनाउँदै सहुलियतपूर्ण कर्जा, पुनरकर्जा, सफा नोट नीति, विद्युतीय भुक्तानी सेवालगायत राष्ट्र बैंकले जारी गरेको नीतिगत व्यवस्था एवं कार्यक्रमहरूको प्रबद्र्धधनमा परिचालन गराइने नीति लिएको छ ।

नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशिकाले बैंक तथा वित्तीय संस्थाहरूमार्फत वित्तीय साक्षरता अभिवृद्धि गर्न आवश्यक निर्देशन जारी गरेको छ । कूल ७ सय ५३ स्थानीय तहमध्ये २०७७ साल असारसम्म ७ सय ४७ तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका छन् । राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरूको संख्या एक पूर्वाधार विकास बैंकसहित १ सय ५५ कायम भएको छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाहरूको शाखा संख्या ९ हजार ७ सय ६५ पुगेको छ । यो तथ्यांकबाट वित्तीय पहुँच अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको देखिन्छ जसले वित्तीय साक्षरतामा वृद्धि भएको बुझ्न सकिन्छ । 

वित्तीय साक्षरताको महत्वलाई व्यक्ति तथा परिवार, बैंक तथा वित्तीय संस्था र राष्ट्रलाई गरी तीन भागमा हेर्न सकिन्छ । व्यक्ति तथा परिवारको सन्दर्भमा हेर्ने हो भने यसरी बुझ्न सकिन्छ । प्रचलित कानुनले कालो धन भनी परिभाषित गरेका आर्थिक क्रियाकलापहरूको संलग्नताबाट जोगाउँछ । उपलब्ध स्रोत र साधनको प्रभावकारी उपयोग र परिचालन गर्न सिकाउँछ । न्यून आय भएका व्यक्तिहरूले भविष्यको सुरक्षाका लागि आम्दानीको केही अंश बचत गर्ने बानीको विकास हुन्छ । बैंक तथा वित्तीय संस्थाहरूबाट विभिन्न प्रकारका कर्जा लिई उद्योग तथा व्यवसाय सञ्चालन गर्न सक्छन् ।

विप्रेषणबाट प्राप्त आम्दानी उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सचेतता प्रदान गर्दछ । व्यक्तिको जीवन तथा व्यावसायिक क्रियाकलापमा हुनसक्ने जोखिम तथा अनिश्चितताबाट वचन बिमा तथा सुरक्षाका नीतिहरू खरिद गर्न सिकाउँछ । वित्तीय साक्षरताले कुनै व्यक्तिको कम लागत, कम समय, सरल तथा सुरक्षित तरिकाले वित्तीय कारोबार गर्नसक्ने क्षमताको विकास गर्दछ । सरकारी तथा गैरसरकारी संस्थाहरूले प्रदान गर्ने अनुदान तथा आर्थिक सुविधाहरू उपभोग गरी व्यक्ति तथा परिवारको जीवन स्तरमा सुधार ल्याउन सक्दछ । वर्तमान समयमा प्रयोग हुने वित्तीय उपकरण तथा सेवाहरूको प्रयोगमा वृद्धि गर्दै व्यक्तिलाई वित्तीय प्रविधिमैत्री बनाउँछ । 

बैंक तथा वित्तीय संस्थाहरूको लागि पनि वित्तीय साक्षरताको महत्व रहेको छ । ग्राहकको फजुल खर्च गर्ने बानीमा सुधार हुँदा निक्षेप संकलनमा वृद्धि हुन्छ । समाजमा उद्यमशील संस्कृतिको विकास हुनाले कर्जा विस्तारमा वृद्धि हुन्छ । वित्तीय संस्थाहरूले व्यवसायको विकास विस्तार गरी अपेक्षित मुनाफा हासिल गर्न सक्छन् । व्यावसायिक क्रियाकलापलाई दिगो, सबल एवं प्रतिस्पर्धी बनाउँछ । बैंक तथा वित्तीय संस्थाहरूका विभिन्न प्रोडक्टहरूको कम लागतमा प्रबद्र्धधन भई सफल सञ्चालन हुन्छ । ग्राहकहरूलाई वित्तीय प्राविधिमा आएको परिवर्तनलाई आत्मसात गराई उच्चतम सन्तुष्टि प्रदान गर्न सक्छ ।

वित्तीय साक्षरता राष्ट्रको लागि ज्यादै महत्वपूर्ण रहेको हुन्छ । देशमा उद्यमशील संस्कृति विकाससँगै लगानी वृद्धि, रोजगारी वृद्धि र गरिबी न्यूनीकरण गर्न सहयोग पु¥याउँछ । आर्थिक स्थायित्व, आर्थिक वृद्धि, आर्थिक विकास र सामाजिक न्याय कायम हुन्छ । राष्ट्रिय पुँजी निर्माण, उत्पादन क्षेत्रको विकास र औद्योगिकीकरण गर्नमा समेत सहयोग गर्दछ । नेपालमा वित्तीय साक्षरता प्रतिशत अन्य विकसित मुलुकको दाँजोमा ज्यादै न्यून देखिन्छ । देशको आर्थिक समृद्धिको विकासलाई वित्तीय साक्षरता शीघ्र अभिवृद्धि गर्न आवश्यक छ ।

सरकार र सबै सम्बन्धित सरोकारवालाले निष्पक्ष, जिम्मेवारीपूर्ण र समन्वयात्मक ढंगबाट वित्तीय शिक्षाको प्रबद्र्धधन गर्नुपर्छ । मुलुकमा सम्पूर्ण नागरिकहरूले कम उमेरमै वित्तीय शिक्षा प्राप्त गर्न यससम्बन्धी पाठ्यक्रम स्कुलस्तरबाट सुरु हुनुपर्छ । जसले वित्तीय साक्षरतालाई औपचारिक शिक्षासँग जोड्ने काम गर्दछ । वित्तीय शिक्षा बैंक तथा वित्तीय संस्थाहरूको संस्थागत सुशासनको एक मुख्य अंग हुनुपर्छ, साथै जसको उत्तरदायित्व र जवाफदेहितालाई प्रोत्साहन गर्नुपर्छ । वित्तीय शिक्षासम्बन्धी नीति तथा योजनाहरू वित्तीय विशेषज्ञबाट स्पष्ट रूपमा निर्धारण गर्नुपर्छ । साथै वित्तीय संस्थाका कर्मचारीलाई मार्गदर्शन गर्न वित्तीय शिक्षा आचारसंहिताको विकास गर्नुपर्छ ।

वित्तीय साक्षरता कार्यक्रमहरू विशेषगरी जीवन उपयोगी आर्थिक योजनाहरू बनाउन सक्ने क्षमतामा केन्द्रित हुनुपर्छ जस्तै वचत, कर्जा, लगानी, निवृत्तिभरण कर योजना आदि । वित्तीय शिक्षासम्बन्धी कार्यक्रमहरू वित्तीय क्षमता निर्माणमा केन्द्रित हुनुपर्छ । जहाँ विशेषगरी लक्षित समूह तथा सकेसम्म व्यक्तिगत रूपमा हुनुपर्छ । राष्ट्रिय अभियानहरू, विशिष्ट वेबसाइटहरू, निःशुल्क सूचना सेवाहरू र वित्तीय ग्राहकहरूका लागि उच्च जोखिमसम्बन्धी चेतावनी प्रणालीलाई बढावा दिनुपर्छ । वित्तीय पहुँच र वित्तीय समावेशीकरणलाई प्रबद्र्धधन गर्न बैंक तथा वित्तीय संस्थाहरूमा जोड दिनुपर्छ । वित्तीय साक्षरता अभिवृद्धिका कार्यक्रमहरू उत्पादन र वितरण गर्ने कार्यमा आधुनिक सञ्चारमाध्यम तथा प्रविधिको प्रयोग गर्नुपर्छ । 

बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्वको कार्यक्रममा जोड दिँदै जसको लागि छुट्याइएको रकम वित्तीय साक्षरताको लागि खर्च गर्नुपर्छ । सहकारी तथा लघुवित्त कम्पनीहरूको देशभर व्यापक संजाल भएको हुनाले वित्तीय साक्षरता कार्यक्रममा यिनै संस्थाहरूको साक्षरता वृद्धि गर्नसक्ने क्षमताको विकास गरी आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गर्नुपर्छ । बैंक तथा वित्तीय संस्थाहरूले वित्तीय जानकारीहरू पारदर्शीका साथ जानकारी दिनुपर्ने, सरल भाषाको प्रयोग गर्नुपर्ने, भ्रम सिर्जना हुनेगरी सूचना दिन नहुने, सरल बैंकिङसम्बन्धी व्यवस्था गर्नुपर्ने, वित्तीय सेवाको शुल्कलगायत शर्त परिवर्तनसम्बन्धी जानकारी दिनुपर्छ ।

Post a Comment

0 Comments