तरुण दलका केन्द्रीय सदस्य पशुपति भट्टराईको खुला पत्र : "व्यक्ति होइन, सिद्धान्तमुखी कांग्रेस चाहिन्छ"
तरुण दलका केन्द्रीय सदस्य पशुपति भट्टराईको खुला पत्र : "व्यक्ति होइन, सिद्धान्तमुखी कांग्रेस चाहिन्छ"
लेखक: सम्पादकिय समूह |
स्थान: पोखरा, कास्की |
नेपाली कांग्रेसभित्रको व्यक्ति–केन्द्रित प्रवृत्ति र गुटबन्दीप्रति असन्तुष्टि व्यक्त गर्दै तरुण दलका केन्द्रीय सदस्य
पशुपति भट्टराईले कास्की जिल्ला सभापति किशोरदत्त बराललाई खुला पत्र लेखेका छन्। पत्रमा भट्टराईले
“व्यक्ति केन्द्रित सोच परित्याग गरी सिद्धान्त, नीति र पद्धतिलाई प्राथमिकता दिने” आग्रह गरेका छन्।
‘म आलोचकभन्दा बढी समर्थक थिएँ’
पत्रको सुरुमा भट्टराईले बरालप्रति सम्मानजनक सम्बोधन गर्दै लेखेका छन् —
“म हजुरको आलोचक कम, समर्थक ज्यादा हुं। तर पछिल्लो समयमा हजुरका लेखहरू सैद्धान्तिक भन्दा बढी व्यक्ति केन्द्रित हुन थालेका छन्।”
उनले कांग्रेसभित्रको पछिल्लो बहस र विशेषगरी जेनजी आन्दोलनपछि बरालका विचारहरू लोकतान्त्रिक आदर्शभन्दा बढी व्यक्तिगत झुकावयुक्त भएको टिप्पणी गरेका छन्।
‘लोकतन्त्रमा व्यक्ति होइन, सिद्धान्त प्रधान हुनुपर्छ’
भट्टराईले बरालको राजनीतिक दृष्टिकोणमा सुधार हुने आशा राखे पनि त्यसको विपरीत ‘चरम व्यक्तिवाद’ बढ्दै गएको बताएका छन्।
“हजुर जत्तिको मान्छेले लोकतन्त्रमा सिद्धान्त, विचार, विधि र पद्धति प्रधान हुन्छ, व्यक्ति गौण हो भन्ने कुरा बोल्ने आट गरेको भए नयाँ पुस्ताको चेतनामा थप बल आउने थियो,”
शेरबहादुर देउवा र गगन थापाको प्रसंग
भट्टराईले बरालको हालैको एउटा लेखमा उल्लेखित विचारप्रति प्रश्न उठाएका छन्:
“शेरबहादुर दाइले तत्काल सभापति पद छाड्नुपर्छ र गगन थापालाई आगामी प्रधानमन्त्री घोषणा गर्नुपर्छ भन्ने भाव नितान्त व्यक्तिवादी होइन त?”
उनले त्यस दिन (सेप्टेम्बर ९) शेरबहादुर देउवा घरमै भेटिएको प्रसंग उठाउँदै प्रश्न गरेका छन् —
“अन्य नेताहरू कहाँ थिए? यदि सबै घरमै थिए भने आन्दोलनकारीहरूले अरू नेताहरूलाई पूजा गर्दैनथे र?”
भट्टराईले संविधानले नै नचिनेको ओली सरकार सञ्चालनमा रहेका 'उच्चस्तरीय संयन्त्र'हरुमा सहभागी नेताहरूको भूमिकाबारे शंका व्यक्त गरेका छन्।
१४औं महाधिवेशन र विचार समूहको प्रसंग
पत्रको अर्को खण्डमा उनले कांग्रेसको १४औं महाधिवेशनपछि बरालले आफ्नो विचार समूह परित्याग गरेको आरोप लगाएका छन्।
“तपाईं शेरबहादुर दाइ र प्रकाशशरण दाइहरूसँग पाँच वर्षसम्म विचारगत संवादमा रहनु भयो। तर सभापतिमा निर्वाचित भएलगत्तै काठमाडौं पुगेर विचार समूह परित्याग गर्नुभयो, जसको प्रत्यक्ष असर प्रकाशशरण दाइमा पर्यो।”
भट्टराईले स्थानीय तहको निर्वाचनमा देखिएको असमञ्जस र आन्तरिक व्यवस्थापनको कमजोर अवस्थाबारे पनि बराललाई स्मरण गराएका छन्।
‘विशेष महाधिवेशन अग्रगामी होइन’
बरालले प्रस्ताव गरेको ‘विशेष महाधिवेशन’को विषयमा भट्टराईले स्पष्ट असहमति प्रकट गरेका छन्।
“विशेष महाधिवेशनले नयाँ पुस्तालाई क्रियाशील सदस्य बन्न वा सहभागी हुनै रोक लगाउँछ। यस्तो कदम कसरी अग्रगामी हुन सक्छ?”
‘नीतिगत सुधार र गुटरहित छलफलको समय’
पत्रको अन्त्यमा भट्टराईले बराललाई आग्रह गरेका छन्:
“व्यक्ति केन्द्रित बहस छोडेर नीतिगत सुधारका संवाद र गुटरहित छलफल अघि बढाउनुहोस्। यही अहिलेको समयको अपरिहार्य माग हो।”
उनका अनुसार, यस बाटोबाट मात्र कास्की कांग्रेसको साख र सभापतिको गरिमा पुनः उच्च बन्न सक्छ।
स्रोत: https://www.facebook.com/share/p/1DNUbCYbrN/
खुला पत्र
नेपाल तरुण दल केन्द्रिय सदस्य पशुपति भट्टराई द्वार नेपाली काङ्ग्रेस कास्की जिल्ला सभापति किशोर दत्त बराललाई लेखेको खुल्ला पत्रको बृस्तृत व्यहोरा:
कास्की कांग्रेसका सभापति,
आदरणीय किशोरदत्त बराल दाइ जय नेपाल।
म हजुरको आलोचक कम समर्थक ज्यादा हुं।
तर जेनजी आन्दोलन पछिका विकसित घटनाक्रम यता हजुरका लेखहरू सैद्धान्तिक कम व्यक्ति केन्द्रित धेरै हुन थालेकाले समर्थक कम आलोचक ज्यादा बन्ने कित्तामा पुगेको छु।हुन त मजस्तो भुंइमान्छेले तपाईको आलोचना गर्दा के फरक पर्ला र?
हुन त सुरुबाट नै हजुर आत्मकेन्द्रीत व्यक्ति हो। हामी झुक्कियौं।बीचमा केही सुधार आउला भन्ने झिनो आशा थियो।तर ठीक विपरीत झनझन् चरम व्यक्तिवादी बन्दै जानुभयो।हजुर जत्तिको मान्छेले लोकतन्त्रमा सिद्धान्त, विचार,वीधि र पद्धति प्रधान हुन्छ, व्यक्ति गौण हो भन्ने कुरा बोल्ने आंट गरेको भए नयां पुस्ता जो अहिले जेनजी भनेर चिनिएका छन् तीनिहरुको प्रस्फुटन हुंदै गरेको राजनीतिक चेतनामा केही थप बल र परिपक्वताका किरण थपिन्थे।
शेर व.दाइ लाई तत्काल सभापति पद छाडेर पूर्ण ब.खड्कालाई कार्यवाहक र आगामी प्रधानमन्त्रीमा गगन थापालाई घोषणा गर्न बिलम्ब गरे आकाश नै झर्छ भन्ने भावको तपाईको लेख नितान्त व्यक्तिवादी चरित्रको नभएर के हो?
९ सेप्टेम्बरका दिन शेर व.दाइ पो घरमा भेटिनुभयो त।बांकी नेताहरु कहां थिए?घरमै थिए?घरमै भएको भए आन्दोलनकारीले अरु नेतालाई पुजा गर्थै कि के गर्थे होलान्?
संविधानले नै नचिन्ने वली सरकार सञ्चालनको उच्चस्तरीय राजनीतिक संयन्त्रमा को को थिए?
अब फर्किउं १४ औं अधिवेशनका विषयमा-तपाई शेर बहादुर दाइ, प्रकाशशरण दाइहरूसँग कम्तीमा ५ वर्ष संगै रहने र विचार समूहमा ईमान्दार रहने संवादका साथ पोखरा फर्कनुभयो। मनोज गुरुङले सहजै विश्वास गरे।
तर सभापतिमा निर्वाचित भएलगत्तै काठमाडौं पुगेर विचार समूह परित्याग गरेको सर्वविदितै छ।जसको प्रत्यक्ष शिकारमा प्रकाशशरण परे।फेरी स्थानीय निर्वाचनमा के के भयो, भयो।त्यसको फेहरिस्त हजुर नै जान्नुस्।
एकातिर युवा पुस्ताको भावनालाई समेट्नुपर्छ पनि भन्ने अनि अर्कोतिर विशेष महाधिवेशन भनेर डंका पिट्ने?विशेष महाधिवेशनले त नयां पुस्तालाई क्रियाशील लीन र महाधिवेशनमा सहभागी हुन रोक लगाउँछ ।अनि कसरी विशेष महाधिवेशन अग्रगामी भयो?
मेरो तपाईँलाई पुनः आग्रह छ,व्यक्ति केन्द्रित बहस छाडेर नीतिगत सुधारका संवाद र गुटरहीत छलफल अघि बढाउनुहोस्। अहिलेको समयको अपरिहार्य माग यही हो। यसले मेरो सभापतिको,कास्की काँग्रेसको सभापतिको साख र कद दुवै बढाउँछ, गरिमामय बन्छ।यसको थालनी गर्ने आंट गर्नुहोस्।विवादका सीमानाहरु गर्ल्यामगुर्लुम ढल्नेछन् भन्ने विश्वासकासाथ जय नेपाल।
0 Comments