१८ कात्तिक बिहीवार, ०७७
🌻मेरो मृत्यु 🌻
मलाई आसा छ
म चैतमा मर्छु
चितवनमै मर्छु
नेपालमै मर्छु !
चैतको अत्यासलाग्दो कुनै शनिबार
छाडा गर्मी नबढ्दै बिहान
मिलेसम्म नौ बजेतिर मेरो
अचानक मृत्यु हुनेछ !
यो कुनै खबर बन्ने छैन
एफ एम र पत्रिकाको लागि
यमराजको नित्यकर्म अनुरुप
हतप्रभ मेरा परिवारको बीचमा
दुब्लोपातलो मेरो शरीर
लमतन्न पर्नेछ !
जसमा जीवनको आशालाग्दो तातो छामेर
मेरा सन्तान मेरो मृत्युको सत्यलाई
अस्वीकार गर्ने सम्भावना खोज्ने छन्
विलाप गर्ने छन् !
मेरो मृत्यु- मेरा हित अहित चिन्तक
आफन्त छिमेकी र टोल सहरमा
विस्तारै प्रसारित हुने छ
मानिस जुट्ने छन्
सहज असहज
भावपूर्ण भावहिन !
केही मानवहरू मेरो जहानप्रति
दुखित, दुखले आक्रान्त
व्यथित विव्हल प्रस्तुत हुनेछन्
यद्यपी म आफ्नो उमेर पुगेर मर्ने छु
तर पनि अत्यन्त राम्रो मान्छे असमयमा मरेको ठहर
सबैले गर्ने छन् !
जमातहरू जसले मेरो जीवनकालमा
मेरो निम्ति
एक शब्द खर्च गरेनन्, मेरा सहयात्रीहरू
मेरा कारणले पछि परेका
रकम डुबेका
शत्रुता कमाएका, नोक्सान बेहोरेका
प्रमोसन रोकिएका, मनपरी गर्न नपाएका
मेरो मातहतमा बस्नु परेर दबिएका
आफ्नै कारणले असफल भएर
मलाई कारण ठानिरहेका
जमातहरू, अति दुखी देखिनेछन् !
मेरा प्रियजन, मुठ्ठीभर प्रियजन
मेरा छोरीहरू अलमल पर्ने छन्
आफ्नै बाउ मरेजस्तै पीडित देखिने प्रतियोगितामा
मेरा सन्तान पराजित हुनेछन्
आफन्तहरू मेरा लागि
पोशाक र पाल्कीको व्यवस्था गर्न
व्यस्त हुनेछन् !
भीड बढ्दै जाने छ
केही महानुभावहरू पल्लो छेउमा उभिएर
रुमालले चस्माको शिशा पुछ्दै
आकाशतिर आँखा चहारेर
मुलुकको राजनीति र मानव अधिकारबारे
गफ गर्ने छन्
अर्को झुण्ड रेडियोको मियो बनाएर
समाचारमा मग्न हुनेछ !
भीडमा शोककर्मी, समाचारको बहार कायम हुने छ
- खै दर्शन नै पाइन्न, कता हो ?
- राम्रो गाडी किन्नु भएछ, बधाई छ
- भोली बेलुका फुड होममा भेटौँ न
नबसेको धेरै भो
- कमिटीको बैठक है, सबैलाई भन्नुस्
- केटी त हेरियो, खै गाँठवाला परिवार परेन
- गाइले दुध राम्रै दिँदै छ
- हो कपालभाँतीले पेट खलाँस हुन थाल्यो
- त्यसकी छोरी ? खत्तम पो त छे
- ट्युसन दश ग्रुप छन् तर पैसै दिन्नन्
- रकम भए ब्याज राम्रै दिन्थेँ लौ न
- सत्ता र सरकार छोड्नु हुँदैन है
- खै सुर्ती झिक्नोस् त खुसुक्क
- अरू के छ ? अहो यार
- खै तिवारी मरि गो, केही बेभार थियो
- टेन्सन पो भयो त
- यस्की बुढीले तिर्ली ?
थोरैमात्र मानिसहरू दुखी हुनेछन्
मेरा प्रियजनहरू, मेरा विद्यार्थीहरू
ससाना फूल लिएर बिस्तारै आउने छन्
मेरो निधार र छातीमा ती
बिस्तारै फूल राख्ने छन्
यो वास्तवमा मेरो जीवनको कमाई हुने छ
तिनले मेरो परिवारसँग
पीडा र वेदना साट्ने छन्
मेरो नयाँ यात्राको निमित्त
तयारी पूर्ण हुनेछ-
मलाई नफर्कने गरी पठाउने तयारी हुनेछ !
ठिक त्यसैबेला मलाई
दुई शब्द बोल्न मन लाग्ने छ
मेरा सन्तान, शिष्य र समकालीनसँग
जीवन मेरा लागि
एक संघर्षमय कथा रह्यो
र म त्यसको रहस्यमय पात्र
मेरो जीवन मेरै लागि केही रहेन
अरुका लागि सबथोक रह्यो !
एउटा मीथकजस्तै
हरेक आरोह अवरोहहरूमा म
अविचल देखिएँ तर मैले पनि
प्रकृतिको नदोहोरिने कुनै पल
साक्षी राखेर रोएको छु एक्लै
नदेखिने आँसुले जीवन भिजेको छ
मेरो पनि
थुप्रै चोटहरूमाथि हाँसेको छु
घतप्रतिघातको खेलमा ।
शत्रुबाट भन्दा
आफन्तबाट ठगिएको लुटिएको छु ।
सहयोगको सट्टामा धोका पाएको छु !
आफूले हिँडेका थुप्रै बाटा गोरेटाबारे
मनभित्र अव्यक्त कथा साँचेको छु ।
प्रेम र आत्मियताको खोजीमा भौँतारिँदा
विषको सिकार भएकोछु- धेरैधेरै पटक ।
थुप्रै जहरिला मान्छेहरूबाट
डसिएको छु म बारम्बार
जीवनको नाउँमा मृत्युको कारोबार गर्ने
सत्यको खोलमा धोका बेच्ने
थुप्रै फौबन्जारहरूबाट लुटिएको छु म
जीवनका गौँडा गौँडीमा !
सेतो आवरणमा बेरिएका काला अनुहारहरू
जसबाट तिमीहरू टाढा रहनु
सुन ! आओ म चिनाउँछु एक एक
भन्न मन लागेको छ
तर के भन्न सकुँला ?
समयले मौका देला ?
निशब्द, अब्यक्त मानविय चेतना
अचेतनमा रुपान्तरित हुनेछ
शब्दहिन अव्यक्त चेतना
तत्काल मेरो महायात्रामा
सुरू हुनेछ !
©रामकुमार तिवारी
0 Comments