Time

Ticker

6/recent/ticker-posts

प्रश्नहरुको घेराभित्र कांग्रेसको चौधौं महाधिवेशन ~ सन्तोषराज सुवेदी

सन्तोषराज सुवेदी |

असार २४, २०७८ १४:७ बजे

स्थापना काल देखि राष्ट्रियता , लोकतन्त्र , समाजवाद , स्वतन्त्र न्यायलय , प्रेस स्वतन्त्रता र बिधिको शासनका निमित्त मुलुकको स्थायी शक्तिको रुपमा भुमिका खेल्दै आएको देशको जिम्मेवार पार्टी नेपाली कांग्रेस आफ्नो चौधौं महाधिवेशनको संघारमा उभिएको छ । जहाँनीय राणाशासन , राजाको प्रत्यक्ष शासन हुँदै अनेक आवरणमा उदाएका नक्कली कम्न्युष्टहरुको दुस्वप्नलाई परास्त गर्दै बिधिको शासन र संबैधानिक सर्बोच्चता स्थापित गर्न कुशल नेतृत्व प्रदान गर्ने नेताहरु लोकतान्त्रिक नेपाल निर्माणका नायक हुन । त्यही गौरवशाली विगतलाई स्मरण गर्दै , वर्तमान परिप्रेक्ष्यमा कांग्रेसले खेलेको भुमिका र महाधिवेशन पश्चात् नेतृत्व कस्तो भन्ने ? भन्ने मुलभुत बिषयमा केन्द्रित रहेर एउटा जीवन्त संगठनले आफुलाई चौधौं महाधिवेशनको माहोल तर्फ डोर्याएको छ ।

 

कांग्रेसको तेर्हौ महाधिवेशनको नेतृत्वले नै मुलुकमा संविधान कार्यान्वयनको लागि स्थानीय सरकार , प्रदेश सरकार र संघीय सरकार निर्माणको निम्ति सफलतापुर्वक चुनाव सम्पन्न गरायो । प्रतिनिधि सभामा प्राप्त अनपेक्षित परिणामले दल प्रतिपक्षी भुमिकामा पुग्यो । संविधान निर्माणको नेतृत्वकर्ता दल कांग्रेस आफुलाई शालिन प्रतिपक्षको रुपमा स्थापित गरेको भन्ने बुझाई एकथरिको भएतापनि एसबीच देउवा-ओलीबीच सहकार्य भएका अनेकौं समाचारहरु पनि प्रकाशित भए । यी समाचारहरुका आधारमा कांग्रेसले सशक्त प्रतिपक्षी भुमिका निर्वाह गर्न सकेन भन्ने आरोपहरु पनि सर्वत्र बाहिरिए ।

 

जनताले प्रतिपक्षीय भुमिकाको निरन्तर मुल्यांकनमा कांग्रेसलाई कति नम्बर देलान् ? यो जायज प्रश्न हो । मैले अरु पार्टीहरु भन्दा कांग्रेसको बर्तमान नियतीलाई नजिकबाट बुझेको छु । आज आम नागरिकले प्रत्यक्ष अनुभुत गर्ने गरि प्रतिपक्षी दल जाग्न सकिरहेको छैन । कांग्रेस नागरिकको सुखमा पनि छैन , दुखमा पनि छैन । कम्न्युष्ट अराजकताबाट आक्रान्त जनताहरुलाई 'कांग्रेस छ' भन्ने भावना दिलाउन सक्ने गरि हरेक ठाउमा आफ्नो दमदार उपस्थिति जनाउन किन सक्दैन ? वास्तविक लोकतन्त्रको अनुभुति नै गर्न नपाएका लोकतन्त्रवादीहरु जसले सिमित नेताहरुको लागि मात्र लोकतन्त्र बचाईदिन किन स्वतस्फूर्त सडक झरिदिनुपर्ने ? तसर्थ लोकतन्त्रको प्रत्यक्ष अनुभुति भुइँमान्छेको तहसम्म दिलाउन सक्ने र हरेक संकटबाट मुलुकलाई निकाल्न सक्ने नेतृत्वको चयन गर्नुपर्ने अभिभारा नेपाली कांग्रेसको चौधौं महाधिवेशन माथी छ ।

 

मैले नेपाली कांग्रेसको आसन्न महाधिवेशनलाई किन एति धेरै व्यग्र चासोको रुपमा लिएको छु ? कांग्रेसको नेतृत्वमा जो आओस ; मैले चासो लिईरहनुपर्ने जरुरत  छैन । जो आएपनी केही पाउने अपेक्षाले नेताको घरसम्म जानुपर्ने रहर मलाई छैन । मुलुकको लोकतन्त्र र नेपाली  जनताको भाग्य निर्माणमा अहोरात्र खटिरहेको पार्टी बिसर्जनको डिलमा नपुगोस भन्ने शुभेच्छा  हो , मनसाय एहि हो । त्यसैले पार्टीलाई बैचारिक एवम् सांगठनिक संकटबाट पार लगाउदै युवापुस्तालाई अघि बढाउने साहस कांग्रेसले देखाउन सक्नुपर्छ । वस्तुतः एसैमा मुलुकको लोकतन्त्र र कांग्रेसको कल्याण निहित छ । मेरो शुभकामना छ ; "अहिले चलिरहेको घनचक्करबाट यो पार्टी बाहिर निस्कोस र आफ्नो सार्थक प्रयत्न तर्फ लम्कोस" ।

 

चौधौं महाधिवेशनबाट कस्तो नेतृत्व छान्ने ? त्यसको जगमा १३ औं महाधिवेशन पछि कांग्रेसको नेतृत्वदायी भुमिकालाई नियाल्नुपर्ने हुन्छ । १३ औं महाधिवेशन पश्चात् धेरै समय कांग्रेस प्रतिपक्षी भुमिकामा छ , अझै छ । प्रश्न छ ; संसदीय भुमिकामा प्रमुख बिपक्षी दलको जिम्मेवारीमा आएको शिथिलताको प्रमुख कारण के-हो ? सत्ताबाट लोकतन्त्रको गला निमोठ्दै भ्रष्टाचारका काण्डहरु मच्चाईरहदा महाभारतमा दुर्योधनको सभाको जस्तै लाचार सदस्य बन्नुपर्ने परिस्थितिमा कांग्रेस किन पुग्यो ? सत्ताबाट विधि र बिधानको हुर्मत लिने प्रयास र प्रयत्नहरु हुँदा धृतराष्ट्र प्रवृत्तिलाई अगाल्न पार्टी नेतृत्व किन उद्दत भयो ?

 

यी प्रमुख कारणहरुलाई आधार मानेर कांग्रेसभित्र उचित सवाल-जवाफ भएन र उसले सुध्रने नैतिक ताकत राख्न सकेन भने आम जनताले कांग्रेसलाई भरोसा गर्न सक्दैनन , न्याय पनि गर्न सक्दैनन् । त्यसैले कांग्रेसको आसन्न महाधिवेशन एउटा औपचारिकता र यथास्थितिको अनुमोदनमा सिमित हुन्छ कि ? आत्मसमीक्षा सहित देशलाई नयाँ , निर्णायक र भरपर्दो नेतृत्व प्रदान गर्ने मन्च बन्छ ? प्रश्नको उत्तर भेट्न कांग्रेसको महाधिवेशननै कुर्नुपर्छ ।

अर्को कुरा कांग्रेसभित्र व्यक्तिवादी चरित्र प्रधान छ भन्ने कुरा छ । स्वार्थीहरुको अखडा जस्तो भएको छ पार्टी । जसले बढि तडकभडक गर्छ , अवसरका निम्ति जसले पैसाको प्रचुर जोहो गर्न सक्छ , बिचारको राजनीति छोडेर समुहको राजनीति गर्छ आजको कांग्रेसको नियती नै एहि बनेको छ । पार्टीभित्र एक-अर्कामा हार्दिकता नभएको सन्दर्भमा , कार्यक्रताहरुलाई काखा र पाखा गर्ने प्रवृत्तिका आधारमा  पार्टीभित्र परिश्रमी कार्यक्रताहरु किनारा लाग्नु बाध्यताको उपज हो , परिक्रमी कार्यक्रताहरुको रजगज चल्नुनै कांग्रेस पतनको मुख्य कारण हो ।

 

के व्यक्तिवादी चिन्तनले पार्टीलाई बलियो ठाउँमा पुर्याउछ त ? कमजोर संगठनमा व्यक्ती बलियो भएर पुगिन्छ कहाँ ? आफू बलियो बनेर अरुचाहिँ दास हुन भन्ठान्ने प्रवृत्ति सामन्तवादी दास मनोवृत्ती हो । यो भ्रमबाट जो कोहि मुक्त हुन जरुरी छ । कांग्रेसको चौधौं महाधिवेशनबाट नेता देखि कार्यक्रतासम्म सबैलाई समान हक , अधिकार , अवसर र जिम्मेवारीबाट सम्मानित तुल्याउदै पार्टीको जग कार्यक्रता पंक्तिलाई स्वाभिमानको उर्जा भर्न आवश्यक छ , नैतिक मनोवलको बिश्वसनिय आधार खडा गर्दै आत्मगौरवको सद्अभियान तर्फ लम्किनैपर्छ ।

 

माथी उल्लेखित सबै कुराहरु पार्टीप्रती गरिएका चासो र चिन्ताका बिषयहरु हुन । तपाईं कांग्रेसीजनहरु कोहि जिल्ला प्रतिनिधि हुनुहोला , कोहि महाधिवेशन प्रतिनिधि । खैर , जो भएपनी त हुनुहुन्छ । तपाईहरु स्वीकार्नुहुन्छ , नभएपनी तपाईको अन्तरमनले स्वीकारेको छ ; "आजको कांग्रेससँग सपना छैन , नवीन अठोट छैन , दक्षता छैन , क्षमता छैन न त दृष्टिकोणनै छ । " कतिपय युवा तन्नेरीहरु हुनुहुन्छ ; 'तपाईहरु बृद्दनेताको भर्याङ बनेर कांग्रेस भित्र एउटा पद त सुरक्षित गर्न सक्नुहुन्छ , तर गुम्दै गईरहेको पार्टीको साख र लाखौं मतदाताको मतलाई कसरी सुरक्षित गर्नसक्नुहुन्छ ? आफू सुरक्षित हुने नाउँमा तपाईहरु कुन बाटो तय गर्दै हुनुहुन्छ ? तपाईंमा युवाको उमेर छ तर युवामन छैन , तपाईहरुमा परिवर्तनकारी चेत छैन , जे छ ठीक ठाक छ भन्ने प्रवृत्ति प्रवृत्त छ ।

 

प्रिय् कांग्रेसीजनहरु ! तपाईहरुलाई के लाग्छ , मलाई त कुनै कांग्रेसीजनले शीर्षस्थानमा बसेकाहरुबाटै कांग्रेसको नवजीवन संंभव छ भन्ने ठानेको छ भने उ बिपिको अवसान अघिनै निदाएको कुम्भकर्ण हो जस्तो लाग्छ । बिन्ती गरेर कांग्रेसीजनहरु यो मरो लक्षित अभिव्यक्ति तपाईहरुको कुनै अमुक नेताप्रती होइन , अचेल पार्टीमा हराउदै गएको बिश्वासहिनता , बिचारहीनता र मुल्यहीनताको प्रवृत्तिप्रती हो ।

 

एउटा भर्चुल मिटिङ मार्फत सभापति ज्यूले कांग्रेसलाई पहिलो शक्ति बनाउने तर्क सहित पुनः सभापतिको चुनाव लड्ने धारणा प्रकट गर्नुभएछ । सभापती ज्यू , केहिथान आफू समर्थक महाधिवेशन प्रतिनिधिलाई "अश्वत्थामा हतो हत:" को शैलीमा काठमाडौका होटलमा आइसोलेटेड गरेर चुनाव त जितिएला तर त्यसरी लाखौ कार्यक्रताको मन कसरी जित्न सकिन्छ ? अर्को कुरा कम्न्युष्ट बिभाजित भएको अवस्थामा अर्को जो आएपनी कांग्रेस पहिलो बन्नसक्छ , अपेक्षा त बहुमतको हुनुपर्ने हो । सभापती ज्यू , के सभापती पदको चुनाव जित्नुले मात्र सबै कुराको दायित्व पूरा हुने हो ? के कांग्रेस सभापती निर्वाचित हुनुको ओज , पराक्रम र प्रतिष्ठा एति नै हो ? तसर्थ कम्न्युष्ट सत्ताले संविधान माथी गरेको घात-प्रतिघात पुर्ण शृङ्खलालाई पुर्णबिराम लगाउदै जे जति अराजकताका नौला दृश्यहरु घटाईएको छ , कांग्रेस शक्तिशाली भएर यी सबै घात-प्रतिघात पुर्ण व्यवहारलाई सुशासन र विकासका फेहरिस्त मार्फत पत्यारिलो जवाफ दिनुपर्नेछ । त्यसै त नैतिकवान नेतृत्वलाई स्थापित गर्नुपर्ने अभिभारा कांग्रेसको चौधौं महाधिवेशन सामु छ ।

 

अग्रजहरु , कांग्रेस पहिला आफू परिवर्तन भएर मात्र देशलाई परिवर्तन गर्नसक्छ । विगतमा जनताले कुन-कुन मुद्दामा कांग्रेस माथी गुनासो गरे ? संविधान निर्माण र त्यसको राजनैतिक नेतृत्व गर्ने पार्टी किन संघीय र प्रदेश सभामा कमजोर रह्यो ? १३ औं महाधिवेशन पश्चात् केही समय सरकारमा रहदा त्यसको कार्यशैलीको प्रभाव जनतामा कस्तो रह्यो ? सुशासन कांग्रेसले कति दिन सक्यो ? खुला हृदयका साथ यथार्थमा बिश्लेषण गरौं । प्रियजनहरु ! पार्टीका आजका कर्महरु त्यती सन्तोषजनक छैनन् , बिगतको सुन्दर काम र युगको स्वेरकल्पनामा रमाएर मात्रै सत्ताको सिढी उक्लने कुरा गार्हो रहेछ , न त बिपि र गणेशमानका महान कार्यहरुको धुनि जगाएरै पुगिंदो रहेछ । कम्न्युष्ट असफलतामा आफुनै निर्विकल्प रहेको र केही नगरी सत्तामा पुग्ने कुरा पार्टीको इथिक्स सग जोडिएको कुरा होइन । त्यसैले पार्टी सत्तामा जादा त्यसैमा मदहोश भएर जनतासंगको संंवादलाई उपेक्षा गरिरहने परंरागत नियतीलाई तोड्न पनि यो महाधिवेशन अत्यन्तै बहुप्रतिक्षित छ ।

 

अन्तिममा मेरो आग्रह छ ; के यो महाधिवेशन पार्टीको नेतृत्व र एसको कार्यशैली बीच देखिएको दरारलाई संबोधन गर्दै सबल कांग्रेस बनाउने मंच बन्न सक्छ त ? पार्टीको आन्तरिक सत्ता सन्चालनको कृया र नेतृत्वको कार्यशैलीलाई सुधार्नका निमित्त के यो कोशेढुंगा सावित हुनसक्छ ? अग्रजहरु ! पार्टीको संरचनालाई नदी जस्तै गतिशिल बनाउन के तपाईं बेगको गतिमा प्रवाहित हुन तयार हुनुहुन्छ ? पार्टीको बैचारिक यात्रालाई आलोकित गर्दै प्रत्येक युवा कांग्रेसको मनमा परिवर्तनको आगो सल्काउन र उग्रवामपन्थी रोमाञ्चकता संग जुध्ने शक्ति संचार गर्न भुमिका खेल्न सक्नुहुन्छ ? के तपाईहरु महाधिवेशनमा उपस्थित हुँदै गर्दा माथी उल्लेखित बिषयमा बोल्न र काम गर्न तयार हुनुहुन्छ ? कांग्रेसीजनहरु ! मत दिने भन्ने कुरा मन दिने कुरा हो । तपाईहरुले महाधिवेशनको संघारमा मत मनले दिने कि अनुचित लाभहानीको दाउमा मनसमेत बेचेर आउने ? आजको कांग्रेस तपाईहरुकै हातमा गएको छ ।

 


Post a Comment

0 Comments