फाल्गुन १५ शनिबार, ०७७ पोखरा
बिऊ
संसारै ढाक्ने हो भन्यौ,
भ्रम छर्यौ,
भित्र्यायौ त्यो सिउँडीको बिऊ,
ऐरेलुको बिऊ,
बिईंको बिऊ,
कन्टकारीको बिऊ।
निमुखा उचाल्यौ,
खण्डहर बाँझो बारीमा सुन फल्छ भन्यौ,
रगत पसिना सिञ्चित गर्न लगायौ,
उम्रियो बिऊ,
जर्बुटो भयो तर झाँगिएन।।
बिदेशबाट ल्यायौ,
रोप्यौ स्वदेशी माटोमा,
मरुभूमि बाट ल्यायौ,
रोप्यौ उर्वर भूमिमा,
आश गर्यौ झाँगिन्छ भनि।
मिसायौ बिऊ,
गर्यौ अर्को गल्ती,
बाँड्यौ गुलिया आश्वासन,
अलि हुर्क्यो,
थोरै झाँगियो,
गर्यौ लुछाचुँढी,
गरायौ अवसान।।
तिम्रो ब्यबहार अति भो,
राष्ट्रलाई खती भो,
जनतालाई सास्ती भो,
भनिदेउ बिषबॄक्ष थ्यो।
बिऊ फेर, नाम फेर,
बिचार फेर,
नारा फेर,
बिदेश हेर,
स्वदेश हेर,
आफूलाई हेर,
जनतालाई हेर।।
देश बुझ,
काल बुझ,
परिस्थिति बुझ,
बिज्ञान बुझ,
प्रविधि बुझ,
ज्ञान बुझ,
आध्यात्म बुझ,
नबनाउ यो स्वर्गभूमी,
तिम्रो प्रयोगशाला।
तिम्रो प्रयोगशाला।।।
(लेखक प्रेम पराजुली श्री सिद्ध बराह माध्यमिक बिध्यालयका शिक्षक हुन।)
0 Comments